वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न
बुटवल, असोज २४, २०८२ (शुक्रबार) वीरगाथा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६औँ साधारणसभाका लागि शुक्रबार शेयर सदस्यहरूसँग सल्लाह–सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १०६ जना शेयर सदस्यले सार्थक सहभागिता जनाएका थिए।
कार्यक्रम संस्थाका अध्यक्ष श्री राज बहादुर थापाको अध्यक्षतामा कर्नल बि. बि. रेश्मी मगर प्रमुख आतिथ्यता भसल्लाहकार प्रकाशमान केसी र सहविर थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। संस्थाका व्यवस्थापक प्रमुख श्री चन्द्रबहादुर रानाले प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पूर्व पदाधिकारीहरू तथा अन्य शेयर सदस्यहरूले विविध विषयमा छलफल गरेका थिए।
संस्थाले स्थापना कालदेखि नै आफ्ना शेयर सदस्यहरूबाट लिखित तथा मौखिक रूपमा सल्लाह–सुझाव संकलन गर्दै आएको छ। सहकारी ऐन, विधान र नियामक निर्देशिकाअनुसार संस्थालाई पारदर्शी र सुव्यवस्थित रूपमा सञ्चालन गर्ने परम्परा यस सहकारीमा स्थापित छ।
कार्यक्रममा राष्ट्रीय सहकारी नियामकीय प्राधिकरण (NCRA) द्वारा जारी नियामकीय मापदण्ड २०८२ को बारेमा विशेष छलफल भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गीतारानी बलाल थापाले दिनुभएको थियो भने सचिव मनमाया थापाले सम्पूर्ण कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शेयर सदस्यहरूले सहकारी सेवा विस्तार, ऋण नीति तथा ब्याजदर, सदस्य सीप अभिवृद्धिका लागि तालिम आवश्यक जस्ता विविध विषयमा सुझाव प्रस्तुत गरेका थिए। सहभागी सदस्यहरूले यस्तो सदस्य सहभागितामूलक अभ्यासले सहकारीप्रति विश्वास र समर्थनलाई बलियो बनाउने विश्वास व्यक्त गरे।
संस्थाका पदाधिकारीहरूले आज प्रस्तुत सुझाव तथा प्रस्तावहरूलाई आगामी १६औँ साधारणसभाको एजेण्डामा समावेश गरी निर्णय गरिने जानकारी दिएका छन्। वीरगाथा सहकारीले बुटवल र वरपरका क्षेत्रमा बसोबास गर्ने भारतिय भु पु र सेवारत आर्मी सदस्यहरुमा आर्थिक साक्षरता र उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न पहल गर्दै आएको छ। संस्थाले स्थानीय लघु उद्यमी सदस्य र लक्षित बचत तथा ऋण योजनाको सञ्चालन गरी सदस्यहरूलाई आत्मनिर्भर बनाउने दिशामा काम गर्दै आएको छ। पारदर्शी व्यवस्थापन र सदस्यकेंद्रित सेवा दृष्टिकोणका कारण यस सहकारीले समुदायमा विश्वासको स्थान बनाएको छ।
कार्यक्रममा सहभागी सदस्यहरूले सुझाव संकलन कार्यक्रमले सहकारीलाई थप सबल र आत्मनिर्भर बनाउने भरोसा व्यक्त गरेका छन्। यस्तै सकारात्मक अभ्यासबाट सहकारी क्षेत्रका अन्य संस्थाहरू पनि प्रेरित हुने अपेक्षा गरिएको छ। यस किसिमको साझा सुझाव संकलनले सहकारीलाई दीगो रूपमा अगाडि बढ्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ।







Comments
Post a Comment