लघुकथा : जात
लघुकथा -जात
'हो, हजुर पन्ध्र दिन भो' पहाडबाट झरेको । उता बाआमा सानैमा खसिहाल्नुभयो । दिदी एउटी- पोहोरमात्र पोइल गई । म एक्लो- घरखेत सबै साहुका पञ्जामा परिगो' । यता अब नोकरी गरौँ भनी खोज्दै हिँडेको । बनिबुतोको अलि रुपैयाँ बाटोखर्च ल्या'थे त्यो पनि सबै सकिगो ।' अब त खोइ… आज तीन छाक भो' केही खाएको छैन ।' उसले आशलाग्दो नजर ममा पोख्यो । मैले उसलाई राम्ररी नियालेर हेरेपछि आफ्ना घरमा पनि यसो बिहानबेलुकी भात पकाई धन्धा गर्ने मान्छेको आवश्यकता घरका मान्छेले महसुस गराएको सम्झना भयो ।
'नाम केहो ?'
'साइँला'
'जात ?'
मेरो प्रश्नको जवाफमा ऊ एकक्षण अन्कनायो र कालो, हिलाले खाएको, लामोलामो मैलो नङ भएको गोडाले भूइँको माटो कोट्यायो ।
'विश्वकर्मा'- उसले भन्यो ।
यसपल्ट उसले मलाई निकै मायालाग्दो गरी तर निराशापूर्ण दृष्टिले हेर्यो ।
'पानी चल्दैन- हामी उपाध्याय ब्राह्मण, भएन भाइ ! के गर्ने, नमानौँ भन्दा पनि परम्परादेखि मान्दै आएको कुरा हो । लौ त ।'
त्यसपछि उसलाई एकपल्ट राम्ररी हेरेर म उसबाट छुट्टिएँ ।
फेरि मैले उसलाई लामो अन्तरालसम्म भेटिन ।
एक दिन हाम्रो परिवारलाई नजिकैका नातेदारका घरमा श्राद्ध भएकाले चुल्है निम्तो थियो । बिहानको भात उतै खानुपर्ने हुनाले हामी यथासमयमा नै पुग्यौँ । भात खाने समय भएपछि उक्त परिवारका केही सदस्य र हाम्रो परिवार भात खान बस्यौँ । मटमैलो धोती बेरेका भान्सेबाजे निहुरेर खाना पस्किरहेका थिए । उनको नाङ्गो ढाडको मैलो जनैमात्र प्रष्ट देखिन्थ्यो । भात पस्किसकेर उनले चुहिन आँटेको पसिना पुछे । मैले यसपल्ट उनको अनुहार राम्ररी हेरेँ … साइँला ! मैले झण्डै बोलाएँ ।
उसले मलाई एकक्षण हेर्यो र चिनेछ क्यार, उसका अनुहारमा डरका रेखाहरू देखा परे । उसका घरपटीले 'भात सार न ! के हेरेको ? मान्छे देखेका छैनौ ।' भनेर हप्काएपछि उसले काम्दो हातले खाना सार्न थाल्यो । त्यसबखत उसको हात बेस्सरी काम्दै गरेको देखेँ । मेरा लागि ल्याउँदै गरेको दालले उसको हात पोलेछ र अलिकति पोखियो पनि । घरपटीले गाली गर्दै भने-'यो बाउनको ढङ्गै छैन । हरिकङ्गालले आफ्ना घरमा कहिल्यै भात पनि देखेको थिएन क्यार ।' मपट्टि हेर्दै भन्दै गए 'के गर्नु आजकल मान्छे पाइन्न त्यसै हुनाले पहाडबाट भरखर झरेको, सोझै रहेछ भनी राखेको…' उनी अरू पनि केके भन्दै गए ।
'लौ सुरु गरौँ'- भन्ने घरपटीको भनाइपछि हामीले भात खान सुरु गर्यौँ । मलाई भने दुई गाँस पर्तिर छिर्दै छिरेन ।
'मलाई सन्चो भएन' भन्ने बहाना पारेर म उठेँ । साइँला मलाई चुठाउनका लागि पानी हाल्दिन अम्खोरा बोकेर बाहिर आयो । उसको हात अझै काम्दै थियो -'हजुर ! शहरमा बाँच्न गाह्रो पर्दोरहेछ । बाँच्नु त पर्यो नै । हजुर गरीबको ज्यानमाथि निगाहा रहोस् ।' अनि उसले आँखाबाट तरक्क आँसु चुहायो ।

Comments
Post a Comment