लघुकथा !- विकास र समृद्धि गीतारानी बलाल :".मसँग त चल्लाहरु मात्र भयो त ।" गुप्तेले झन् जिज्ञासाको नजरले हेर्यो ।

 

   

                             गीतारानी बलाल
                    लघुकथा  : विकास र समृद्धी                                  
विकास र समृद्धि भनेको  के हो र ?" सर्वत्र सुनिदै आएको शब्दले गुप्तेलाई पनि कौतुहलता जागेको थियो उसले बाटोमा भेट्ने जति सबैलाई  सोध्यो ।

"सबैजना धनी हुने भनेको के धनी" असार मास  रोपाइँको कामले व्यस्त  भएकोले ऊसँग धेरै बोल्नु भन्दा छोटोमा उत्तर दिएर हिंड्नु ठिक ठानेर मुखिया बा  लम्किहाले ।

गुप्तेलाई अब फेरी धनी हुन के गर्नुपर्छ होला भन्ने कुराले सताउन थाल्यो । उकालीको चौतारीमा सियाँलमा बसेर हावा खाइरहेका हर्कमान साहुलाई देख्ने वित्तिकै सोध्यो "ए साहु साहु धनी हुन के गर्नुपर्छ ?"

"मानिलिऊँ तिमिसँग पाँच सय  रुपियाँ छ भने त्यो तिम्रो आमदानी भयो, अब तीन सय रुपियाँको कुखुराको चल्लाहरु किन्यौ  र सय रुपियाँको चारो खुवायौ भने त्यो तिम्रो लगानी भयो, हो कि होइन ?" एकोहोरो साहुको मुखमा ट्वाल्ल हेरेर सुनिरहेको गुप्ते साहुको प्रश्नले झस्कियो ।
"हो..हो" गुप्तेले मुन्टो हल्लायो ।
"दुई महिनासम्म चल्लाहरुको स्याहार गर्ने कामदारलाई सय रुपियाँ ज्याला दियौ भने तिम्रो पाँच  सय सकियो ।" साहुले जुङ्गा मुसार्दै गुप्तेको मुखमा हेरे । 

".मसँग त चल्लाहरु मात्र भयो त ।" गुप्तेले झन् जिज्ञासाको नजरले हेर्यो ।

"हो, अब ति चल्लाहरुलाई तिमिले हजार रुपियाँमा बेच्यौ भने पाँचसय फाइदा भयो । यसै गर्दै गएपछि तिमिधनी  बन्छौ " हर्कमानले सरल ढंगबाट गुप्तेलाई सम्झाए ।

अब भने गुप्तेको मुहारमा प्रसन्नता देखियो ।
"बुझ्यौ त धनी हुने काइदा ?" साहुले सोधे ।

"बुझें, बुझें" खुसी प्रकट गर्दै गुप्ते घर गयो ।

"....विकास र समृद्धिको लक्ष्य लिएको सरकारले २०७७/०७८ को अनुमानित बजेट पेश गरेको छ...." गुप्ते घर पुग्दा टेलिभिजनमा समाचार बजिरहेको थियो ।
"…सरकारले प्रस्तुत गरेको बजेटमा आमदानी सात खर्ब..., विकास खर्च तीन खर्ब...र तलब, भत्ता, ब्याज भुक्तानीमा बाह्र  खर्ब...हुने अनुमान गरेको छ....।"समाचार जारी थियो ।
 भर्खर विकास र समृद्धिको परिभाषा जानेर आएको गुप्ते फेरि अलमल्ल पर्दै औंला भाँच्न थाल्यो ।
"आमदानी सात खर्ब...
लगानी तीन खर्ब...
ज्याला बाह्र खर्ब...अनि 
फाइदा...?...?...?" 
विकास र समृद्धिको हिसाबमा पटक -पटक हातका दसैं औँला भाँच्दा पनि हिसाब नमिलेपछी गुप्तेले झिजिँदै आफ्नै टाउकाे जोड जोडले   कन्याउन थाल्यो ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।