कविता|- समीकरण <> कविताको भारी बोकेर निरन्तर चढीरहेको थियो, दुश्मनको इलाकामा एउटा बुढो भरिया ।


               यज्ञ प्रसाद न्यौपाने 

 
             करागारको समीकरण 

हिउँमा पनि न्यानो थियो उसको दृष्टि 
धुपमा पनि शितल थियोे उसको विचार 
तेलङ्गनाको माटोमा फुलिरहेको थियो 
वर्ग मुक्तिको घडीफुल ।
कविताको भारी बोकेर 
निरन्तर चढीरहेको थियो,
दुश्मनको इलाकामा एउटा बुढो भरिया ।
सत्ताको विषाक्त हरियो साँपलाई
मन परेन कविताको कालजयी प्रेम
मन परेन युद्धको युगीन सौन्दर्य 
उसलाई त प्रशस्ती मनपर्छ औधी 
भजनको रन्कोमा ,अक्सर नाचिदिन्छ बेतोड।।
ऊ नाच्दा गरिबहरूले ताली पिटिदिनु पर्छ
ऊ नाच्दा सिमान्तकृतहरू हाँसीदिनु पर्छ
ऊ मातेर बुर्कुसी मार्दा हाम्रा मेरुदण्डहरु ओछ्याइदिनु पर्छ
ऊ मन्दिर जाँदा  दलितको करङको पुल टेक्नुपर्छ
ऊ वादशाहीको भङ्गिमा देश देशान्तर डुल्दा
हाम्रा शिरहरू सभक्ति पाउमा घोप्टिनु पर्छ
उसले खोक्दा थुकका छिटाहरुमा 
जय हिन्दुस्तानको महिमा सल्काइदिनु पर्छ
तर उसले अघाउँदा
हामी भोको बस्नुपर्छ 
भयानक कुरा यो हो ऊ मुस्कुराउँदा
किन खोसिन्छ रोटीका टुक्राहरु,हाम्रै हत्केलाबाट??
उसले न्यायको महात्म्य गाउँदा 
हाम्रा चेलीहरूका कपडा  बलात् च्यातिनु पर्छ।
उसले देशभक्तिको एकोहोरो शंख फुक्दा
बस्तीमा किन गहिरो सन्नाटा छाउँछ?
उसले थुन्न खोजीरहेछ आदिवासी राजमार्ग 
उसले भत्काउन खोजीरहेछ सहिष्णुताको पहाड 
उसले चिथोर्न खोजीरहेछ ,अक्षरको वर्णमाला
अर्थात उसले निभाउन खोजीरहेछ मुक्तिको आगो।।
यो असम्भवप्रायः कुरा हो
ओ!क्रूर शासक
फूलको कालीन चुडेर
तैंले गाँस्दै गरेको माला
हाम्रो गलामा सुहाउँदैन ।
तैंले बगाउन खोजेको एकात्मक रगत 
बग्दैन हाम्रो नशामा 
बरु विपरीत त्यो उम्लन्छ हाम्रो टाउकोमा ।
तेरे नश्लीय राज्यसत्ताको घृणित दरबारमा 
अब निस्संदेह सल्किन्छ डढेलोको झिल्को।।
सहरमा सल्कदै गरेको मिहिन उज्यालोमा 
उसले आफ्नो सक्कली अनुहार देख्छ
देहातको अँध्यारो साम्राज्यमा 
आफ्नै छायादेखि तर्सन्छ।
कलमका डोबहरूलाई
नक्सालवादी पाइला घोषित गर्छ ।
पडोसीको स्वाभिमानी आवाजले
निद्रामा पनि तर्सन्छ।
ऊ निर्विवेक अवतरित छ 
धृतराष्ट्रको अन्धो अभिमानमा।
ऊ आफ्नै मात्र विचारलाई धर्म ठान्छ
र कविताको अविचलित आस्थामा गोली ठोक्छ। 
असली आंतककारी को हो?
देखाइदेओस् कसैले उसको अनुहारको बक्ररेखा।
आज पनि उसले जपिरहेछ मुर्दा शान्तिको मन्त्र
आज पनि ऊ बन्दुकबाटै शान्तिको आवाज फैलाउन चाहन्छ।  
कारागारमा कविले लेखीरहेछ समीकरण 
शान्ति -(माइनस्)कविता =विद्रोह 
कविता = न्याय + युद्ध 
युद्ध + विद्रोह + कविता = श्रमजीवी /न्याय 
युद्ध × कविता =राज्य( अस्तित्व )
 


 

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न