लघुकथा : काला सर्पको खोजी : @ हरि प्रसाद भण्डारी<> सानीछँदा एकान्त पारेर एउटा सर्पले उनलाई डस्यो ।


             


                                                                    सानीछँदा एकान्त पारेर एउटा सर्पले उनलाई डस्यो । डसाइबाट जोगिन उनले सक्दो प्रयास गरिन् । लुगा च्यातिए, शरीर चिथोरियो तैपनि उसले छोडेन ।आफ्नो बिष उनीमाथि खन्याएपछि सर्प त्यहाँबाट भाग्यो । उनी रक्ताम्य अबस्था रुँदै घर पुगिन् ।
उनको दर्दनाक अबस्था देखेर घरका जहान आत्तिए । सक्दो औषधिमूलो गरे । छिमेकीहरूले सहानुभूति देखाए । सर्पबिरुद्ध आक्रोश उब्जियो तर तत्काल त्यो सर्पलाई मार्न सकिएन ।
डसाइको पीडाले उनी महिनौँ थलिइन् । आराम भएपछि उनलाई गाउँमा बस्न मन लागेन । आफन्तको साथ लागेर सहरतिर लागिन् ।
सहरमा जुठोभाँडो गरेर जेनतेन प्राण धान्दै थिइन् । एक रात त्यस्तै अर्को सर्पले उनलाई फेरि डस्यो । त्यस घटनाले उनको जीवनमा अर्को पीडा थप्यो । जीवनलाई थप विषाक्त बनायो । त्यसपछि त डसाइका घटनाहरू दोहोरिन थाले ।
सर्पहरूको अत्याचारबाट आजित भएर उनी सर्पविहीन ठाउँको खोजीमा भौतारिँदै मठ-मन्दिर, पाठशाला, कार्यालय, सामाजिक सङ्घसंस्था आदि ठाउँहरूमा पुगिन् तर त्यहाँ पनि कुनै न कुनै प्रकारका सर्पसँग जम्काभेट भइ नै रह्यो । डसाइका प्रयत्नहरू जारीरहे ।
पीडा खप्दाखप्दा सर्पहरूको डसाइ अब उनका लागि नौलो विषय रहेन । डसाइका कारण बरू उनी सर्प भन्दा पनि बिषालु भइन् । सर्पहरू उनलाई अमृत ठानेर पिउन खोज्थे र पिउँदापिउँदै लट्ठिएर ढल्थे । सर्पहरू ढलेको देखेपछि उनलाई आनन्द लाग्थ्यो । अनि ढलेको सर्पमाथि घृणाले थुक्थिन् ।
अब भने उनलाई कुनै सर्पले डस्छ कि भन्ने पिरलो भएन । सर्पको डसाइविना उनी नै बरु बाँच्न नसक्ने भइन् । त्यसपछि उनी शरीर डसाउनकै लागि काला सर्पको खोजीमा भौँतारिँदै हिड्न थालिन् ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न