मुक्तक
शंकर ज्ञावली
मुक्तक -१
मन मिल्दा सम्म भित्रि कुरा खोल्न थाल्छन्
अंकमाल गर्छन र सारा तन डोल्न थाल्छन्
जब संबन्धमा छेद पस्न थाल्छ नि तब भने!
पुराना खाटा कोट्याई् आपसमा पोल्न थाल्छन् ।
मुक्तक -२
पातमा डढुवा लागेपछी जलेर जान्छ
जरामा धमिरो लागेपछी ढलेर जान्छ
गुवोबाटै गवारे किरो पसेपछी त के गर्नु!
मकैको बोट त भित्र-भित्रै गलेर जान्छ।
मुक्तक -३
मतदाता समेतले थाहा पाउन बांकी छ
गुट र उपगुटका गाथा गाउन बांकी छ
यो त टेलर मात्र हो पार्टीका कलहको!
असली फिल्म त बाहिर आउन बांकी छ।
मुक्तक-४
रास्ट्रीय पहिचानहरु नास्सिंदै छन्
पुरातात्त्विक संरचना भास्सिंदै छन
यी सबै हाम्रो अकर्मण्यताले गर्दा हो!
बन संम्पदाहरु धमाधम मास्सिंदै छन् ।
मुक्तक-५
जे हो त्यसैलाई किन टोल्न सक्दैनौ?
बेथिती बिरुद्ध किन बोल्न सक्दैनौ?
मुखमा कुभिण्डो अडकेको त छैन नि!
अन्यायमा किन मुख खोल्न सक्दैनौ?

Comments
Post a Comment