मेरो गाउँ लाहाचोक : एक चिनारी

                 राजु क्षत्री अपुरो

माछापुच्छ्रे हिमालको काखमा बसेको सुन्दर गाउँ हो लाहाचोक । पोखरादेखि १३ कि. मी. उत्तर पश्चिममा अवस्थित लाहाचोक गाउँलाई गण्डकी नदी र   दुई खोला लस्ती र मर्दीले छुट्याएको छ। गाउँको पूर्वमा पुरन्चौर , उत्तरमा  घाचोक , दक्षिणमा हेमजा , पश्चिममा धिताल र  रिभान रहेको छ।  पहाडी प्रदेश भएपनि यो गाउँको  अधिकांश भूभाग समथर रहेको छ।   गाउँको भुभाग दुई खण्डमा विभाजित रहेको छ। 

तल्लो  खण्डमा भिरकटेरा क्षेत्र र मर्दी बेँसी  रहेको छ।  माछापुच्छ्रे ग्रामीण सडक निर्माण भएपछि  यो क्षेत्रमा बस्ती बाक्लिन थालेको हो  ।  यो क्षेत्रलाई खेतियोग्य जमिनको रुपमा लिइने गरिन्छ। उपल्लो भेक घनाबस्ती र विशाल फाँट रहेको छ। यसको नामाकरण कसरी भन्ने बारे ऐतिहासिक दस्तावेज  भने छैन। तर जनश्रुतिलाई आधारित मान्ने हो भने कुनैबेलाका रजौटाहरू एक आपसमा लडाइँ गर्ने क्रममा सम्झौता अनुरुप लाहाको छाप लगाइएको स्थान  हुनाले लाहाचोक हुन  गएको हो भन्ने पनि सुनिन्छ। तर यो बारे थप अनुसन्धान हुनु आवश्यक देखिन्छ । 

जनजाति  :-
लाहाचोकमा बसोबास गर्नेमा जनसंख्याको आधारमा ब्राह्मण समुदायको बाहुल्यता छ। त्यसै गरि क्रमश  दलित , रानाभाट , ठकुरी, क्षत्री  ,  नेवार , गुरुङ मगर, तामाङ्ग समुदाय लगायत अन्य  जनजातिको  बसोबास रहेको छ ।

पेशा तथा व्यव्साय :-
लाहाचोकका जनताको मुख्य पेशा कृषि हो। लाहाचोक नमुना कृषि गाउँ घोषणा भए लगत्तै कृषकहरूको उल्लेखनीय वृद्धि भएको पाइन्छ। लाहाचोकले  उल्लेखनीय मात्रामा दूध ,तरकारी पोखराको बजारमा खपत गरिरहेको छ। यहाँ धान, मकै , कोदो र  भट्मासको उत्पादन  बढी गरिन्छ। गर्वको कुरो राष्ट्रपति बाट सम्मानित  इमान बहादुर गुरुङ्गको भैंसी फर्म लाहाचोक मै अवस्थित रहेको छ। 
बढ्दो जनसंख्या सँगै यहाँ अन्य पेशा अपनाएर जिविकोपार्जन गर्नेको सङ्ख्या पनि दिनानुदिन बढ्दै गैरहेको छ। होमस्टे , रेस्टुरेन्ट ,निर्माण व्यवसाय, दैनिक उपभोग्य बस्तुका पसल , आदिमा उल्लेखनीय बृद्धि भएको पाइन्छ।शिक्षा तथा खेलकुद :-
शिक्षाको अवस्था र स्तरमा भने लाहाचोक पछि नै परेको छ । यहाँ धेरै कुराहरु २०४६ पछि नै  फड्को मारेको पाइन्छ। यद्यपि अन्य छिमेकी गाउँको तुलनामा साक्षरता दर भने निकै कम देखिन्छ। ब्राह्मण समुदाय बाहेक अन्य जातिमा उच्च शिक्षा हासिल गर्नेहरूको संख्या  आज पनि औँलामै गन्नु पर्ने अवस्था छ। शिक्षाको स्तरमा वृद्धि  गर्न सबै पक्षको ध्यान जानु नितान्त जरूरी देखिन्छ  प्यारो गाउँ  लाहाचोकमा ।

लाहाचोकको मुख्य खेल फुटबल र सहायक खेल भलिबल हो। यहाँ पुरानो पुस्ता त दोहोरो खेलमा प्रख्यात  मानिन्थे । तर पछिल्लो समयमा युवापुस्ता  भलिबलतिर कम झुकाव भएको पाइन्छ। यसो हुनुमा धेरै कारण हुन सक्छन् तर एउटा कारण भलिबल प्रतियोगितामा हुने विभिन्न खालका वादविवादहरु हुन् ।जसले गर्दा   लाहाचोकका युवाहरूले प्रतियोगिता  आयोजना गर्नु भन्दापनि सहभागीता  मात्रै जनाउनु लाई उपलब्धिपुर्ण  ठानेका  देखिन्छन् भने फुटबलमा खस्केको स्थितिलाई सम्हाल्दै वर्तमानमा युवाहरुले ठुलै फड्को मारेको देखिन्छ। गण्डकी प्रदेश  स्तरीय फुटबल प्रतियोगितामा लगातार दुई पटक च्याम्पियन बनेर स्थानीय केही युवा खेलाडीहरूले आफुलाई प्रमाणित गरिसकेका छन् । माछापुच्छ्रे गापाको केन्द्रबिन्दु भएका कारण र पर्याप्त जमिन भएकै कारण लाहाचोकमा रंगशाला निर्माणाधिन अवस्थामा रहेको छ। खेलकुदको रेखदेख अहिले माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले गर्दै आइरहेको छ। 

 विकास तथा निर्माण :-
लाहाचोकले मुहार फेर्न थालेको पचासको दशकतिर मात्रै हो। टुकि बाल्नु पर्ने वाध्यता र पैदल हिड्नु पर्ने समस्याबाट मुक्त हुन थालेको दुई दसक मात्र नाघेको छ। हाल लाहाचोकमा निजी सवारी साधन पर्याप्त मात्रामा चल्ने गरेको देखिन्छ  । तर सार्वजनिक गाडीहरू अझैपनि निरंन्तर  र नियमित चल्न  सकिरहेको देखिदैन। लाहाचोकलाई धार्मिक तथा पर्यटकिय क्षेत्र भनेर  चिनाउन जनप्रतिनिधिहरू पनि उत्तिकै लागिपरेका देखिन्छन्। सरकारी बजेट बाट  निर्माण हुन लागेका केही योजनाहरूले मर्दिखोला , पातिखोला गुफा, सम्मी बगर, अर्मला देउराली आदिको थप मुहार फेर्ने नै छन्  भन्ने पुर्ण  विश्वास छ ।

आयको मुख्य श्रोत:-
कुनैबेला लाहाचोकमा केही अपवाद छाडिदिने हो भने धेरैजसोको आर्थिक स्तर निकै खस्केको अवस्था थियो।  सयौँ युवाहरू बेरोजगार भएर बस्न बाध्य थिए। समयको चक्रसंगै  वैदेशिक रोजगारीमा जानेको लर्को नै लाग्न थाल्यो। धेरैजसोले आफ्नो घरेलु अवस्थालाई मजबुत बनाउन वैदेशिक रोजगारीको सहारा लिए।  युवाहरू कोरिया, खाडी मुलुक मलेसिया  र केही युरोप अमेरिका जापान अस्ट्रेलियामा आदि देशमा पुगेर काम गर्न थाले। यो क्रम अझै पनि जारी छ।
 राजनीतिक तथा प्रशासन क्षेत्र :-
हालसम्म लाहाचोकबाट न्यायालयको उच्च पदमा पुग्ने एकजना , एकजना सिडियो   ,५ जना प्रहरी अधिकृत, दुई जना सैनिक अधिकृत रहेका छन् ।
स्वास्थ्य क्षेत्रमा एक जना   मुटु र मस्तिष्क रोग बिषेशज्ञ रहेका छन् । तुलनात्मक हिसाबले स्वास्थ्य क्षेत्रमा योग्यता  हासिल गर्नेको संख्या पनि हातकै औंलामा सीमित रहेको देखिन्छ ।

वैदेशिक रोजगारमा रहेका लाहाचोकका युवाहरूको भुमिका :- 

लाहाचोकको विकासमा वैदेशिक रोजगारमा रहेका युवाहरूले खेलेको भूमिका छुटाइयो भने मेरो यो लेख अधुरो नै हुन्छ। तसर्थ नेतृत्वदायी भूमिका खेलेका केही व्यक्तिहरूको नाम लिनु उपयुक्त ठान्दछु जसले गाउँप्रति देखाएको माया सद्भाव बिर्सिनु हुन्न भन्ने मलाई लाग्दछ। लाहाचोकमा अहिले सेवा दिइरहेको एम्बुलेन्स वैदेशिक रोजगारमा रहेका युवाहरूकै सहयोगको देन  हो। 
भुपु सैनिक तथा कल्याणकारी मञ्च कतार, लाहाचोक सेवा समाजका सँस्थापक अध्यक्ष कवि क्षत्री सल्लाहकार अजित नेपाली , कोरिया समाजबाट भगवान शाहीले खेलेको भुमिका अतुलनीय रहेको पाइन्छ। यस्तै बानेटाकुरालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउनपरिकल्पनाकार राम जिसीको भूमिका र स्वदेश मै रहेका भुपेन्द्र कुँवरको भूमिकालाई बिर्सनु हुदैन।देउराली मन्दिर निर्माणमा कृष्ण शाही र रामचन्द्र शाही ,थप निर्माणमा  कोरियामा कार्यरत लाहाचोकका युवा भाइहरूको भूमिका प्रशंसनीय  देखिन्छ। गाउँ चिनाउन कवि क्षत्री र भगवान शाहीको सक्रियतामा बनाइएको भिडियो , स्वदेश मै रहेका सिबि उच्चैको एकल प्रयासमा गाउँको वृतचित्र , यी प्रशंसनीय कार्यहरू हुन् ।
 यसैगरि  गाउँ को बिकास र भैपरी आउने समस्यालाई मेरो टिमले खेलेको भुमिका पनि स्मरणीय रहेको छ। सगुन अधिकारी, ज्योती शाही , लबि क्षत्री वसन्त रानाभाट , गुणराज अधिकारी , अजित नेपाली , देव दवाडी, प्रेम जिसि, ज्योती शाही , स्वदेशमा रहेर व्यवस्थापन कार्यमा सहयोग पुर्याउने सुशील श्रेष्ठ, केशवराज अधिकारीको भुमिका महत्त्वपूर्ण रहेको थियो। यसैगरी स्वदेश बाट माया गुरुङ् , बालकृष्ण अधिकारी आदिले पातिखोला गुफा निर्माणमा खेलेको भुमिकापनी म छुटाउन चाहान्न। वैदेशिक रोजगारमा रहि अर्जुन बहादुर शाहीको सहयोग अविश्मरणिय रहिरहनेछ। 

कला /साहित्य :-
लाहाचोकमा थुप्रै प्रतिभाशाली कलाकार जन्मिएपनि वर्तमानमा नाम चलेका कलाकारमा   सिडि बिजय अधिकारी, समीक्षा अधिकारी , श्रीराम अधिकारी अनि पार्वती जिसी र तुलसा जिसी हुन् । केही युवाहरू आफ्नो प्रतिभा देखाउन कम्मर कसेर लागिपरेका देखिन्छन् । शङ्कर नेपाली राजेन्द्र अधिकारी जीवन सुनार यसका उदाहरणहरू हुन् । नाटक बिधामा भुपेन्द्र ढकाल , ममता कार्कीले पोख्रेली दर्शकको मन जितेका छन् । केहि युवापुस्ताहरू अवसरको खोजीमा देखिन्छन् । लिलाधर अधिकारी अभिलासी कविता गजलमा, बिजय बिरानु अधिकारी कविता ,  डिडि अधिकारी , बलराम पौडेल समिक्षकको रुपमा परिचित छन् भने लघुकथामा परिचय बनाउँदै गरेको  म स्वयंको साधना पनि कम छैन भन्ने लाग्दछ। तर यसकुराको मुल्यांकन भने पाठकवर्गले नै गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
बस्ती बिस्तार :- 
लाहाचोकमा बस्ती बिस्तार भएको इतिहास  धेरै लामो छैन। सबै बाहिरबाटै आएर बसेको बस्ती हो।  कसैले किनेर ,कसैले बिर्ता पाएर, अलि बलिया बाङ्गाले ओगटेर बसेका हुन् । भनिन्छ, सबैभन्दा पहिला रानाभाटहरू आएका थिए रे, त्यसपछि कतिपय ब्राह्मणहरू ,  धितालदेखि झरे । त्यसपछि दलित समुदायहरूको आवश्यकता महसुस गरियो  । लडाईँ झगडा हुन नदिन , न्याय निसाफ दिन ठकुरीहरू ल्याइए। मौलो मन्दिरमा  पुजापाठ  गर्न पर्वतको मल्लाजबाट क्षत्रीहरू ल्याइए। कोही ठाउँ राम्रो लागेर आफैँ  बसाईँ  सरेर आए। यसरी सँरचना भएको गाउँ  हो , मेरो लाहाचोक ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न