कविता |- कुन अवतार लिऊँ म ?@ राधिका कल्पित


                            राधिका कल्पित

 
जब सङ्कट पर्छ दुर्गा बन भन्छौ
जब पार्नुपर्छ  सुनको अन्डा 
तब जादुमयी मुर्गा बन भन्छौ
जब पहाड आउछ, बारुद बनेर फोर भन्छौ
जब मृत्यू नजिक अऊछ, साबित्री बनेर हात जोर भन्छौ
जब फोर्नु पर्छ खेतका डल्ला
तब भीमसेन जस्तै बन भन्छौ

कसरी भरुँ फूलजस्तो शरीरमा भिमको तागत म ?                                                                                                                      
रातमा राग जगाउदा रति झैं बन भन्छौ
झिसमिसे हुन नपाउदै फेरि सती झैं बन भन्छौ
 घरि सबै सहेर बग्ने पबित्र गङ्गा बन भन्छौ
तिम्रो मन बहलाउनु पर्दा फेरि  चङ्गा बन भन्छौ ।
पानी बन भन्छौ तिमिलाइ रिस उठ्दा
आगो बन भन्छौ तिमीलाई चीसो हुँदा 
 तिमी राम भन्दा हनुमान बन भन्छौ
तिमी मान्छे बन्दा भगवान बन भन्छौ 
जब चपाउनु पर्छ गरिबीका चिउरा 
फलाम बन भन्छौ
जब चोट लाग्छ तिम्लाइ
मलम बन भन्छौ ।

कसरी फेरूँ म हरदम स्वरूप ?

बारुलाको जस्तो छिनेको कम्मर मन पर्छ रे तिमीलाइ
मृगका जस्ता नयनले हेर्नू पर्यो रे तिमीलाइ
नागको जस्तो लचक पनि आउनु पर्यो रे कम्मरमा
कोमल गुलाबहरु फुल्नु  पर्यो रे अधरमा
नवजात छाउरालाइ डकार्ने बनाउन पर्दा 
लैनी भैँसी झै बनिदिनु पर्ने
जब हुर्कन्छन थोरै छाउराहरु
तिम्रा लागि फेरि दिपिका बनिदिनु पर्ने  ।

बारुलाको शरीरमा गुलाब कसरी फुलाउँ म?

किन स्विकार्न सक्तैनौ तिमी
गुलाबको बोटमा दुइचार काँडाहरु?
किन पचाउदैनौ कमलको पातमा
थोरै हिलाका बाछिटाहरु?
किन सहन सक्दैनौ
सीताका सारीमा थोरै खोटका धब्बाहरु?
किन स्विकारदैनौ बिषकन्याको
शरीरबाट निस्कने मन्द बिष?
किन स्विकार्दैनौ मत्स्यगन्धामा
 नजानिंदो नमिठो गन्ध?

नबिर्से हुनी चन्द्रमामा पनि दाग हुन्छ ।

तिम्रै खातिर,
जब पानी बनेर तरल हुन्छु
यसरी पोखिन कहाँ हुन्छ भन्यौ
जब अागो बनेर बल्न खोज्छु
यसरी दन्कन कहाँ हुन्छ भन्यौ
जब श्रृङगारिएर अप्सरा जस्ति बनें
यसरी मस्कन कहाँ हुन्छ भन्यौ
लौ त भनेर फेरि अरठ्ठ जीउ लिएर अाएँ
तब मलाइ अलच्छिना भन्यौ ।

आगो मा नौनी कसरी जोगाउँ म?

जब भोलेनाथ बनेर बौलाउछौ
पार्बती बनेर नाच भन्छौ
जब कृष्ण बनेर बजाउछौ मुरली
राधा बनेर कम्मर भाँच भन्छौ
जब इन्द्र झै बनेर उत्ताउलिन्छौ
मेनका बनेर हाँस बन्छौ

कुन अवतार लिऊँ?

कामदेवकी रती
या महादेवकी सती
इन्द्रकी उर्वशी
या सूर्य कि शशि?

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न