कविता ; म नभएको मेरो घर <> `बाबु यता आऊ´ भन्दा उता जाने छोरो मेरो तस्बिर मुनि घोप्टीरहन्छ स्थुल बनेर ढोका थुनेर टिकटक मा नाचिरहने मेरी छोरी धुमधुम्ती बसिरहन्छे मुर्ति बनेर



राधिका कल्पित - काठमाडौं 
म नभएको मेरो घर
जब माला चढ्यो मेरो तस्बिरमा 
तब मूक भँए मेरै तस्बिर जस्तै
हरेक चलायमान अवयवहरु
घन्टी बज्न छोड्यो पुजा चौकामा
घाम छिर्न छोड्यो झ्याल अनि चोटामा
परेवाहरु बस्न छाडे घरका कौसीमा
हिड्न छाडे देउताहरु कोठाकोठामा ।
म छँदा जताततै थिएँ र सायद कतै थिईन
सायद थिएँ चियादानीमा/फुलदानीमा
सायद थिएँ सिरकमा/ सिरानीमा
या बचेराहरुको हतारोमा या चटारोमा 
या फुलेका फूलहरुको मुस्कानहरुमा
थिइन सायद भिन्न अस्तित्वमा 
कि चिनी झै घोलिएर चिया बनेर पुग्थे ओठहरुमा
कि बेसार र नुन झैँ मिसिएर स्वाद बनेर सजिन्थे
डाइनिङहरुमा
या स्पर्श बनेर पुग्थेँ निधारमा, गालामा या गलामा
या यन्त्र बनेर पुग्थे सर्टका बटनमा/टिफिनका बट्टामा
या हातहरु बनेर पुग्थेँ जुत्ताका तुनामा/ या कपालका रिबनमा ।
आजकल
जब मोजाका जोडी भेटिन्नन
जब सुटको `म्याचिङ टाइ´ भेटिन्न
उनलाइ बल्ल जोडी छुटेको भान भइरहेछ
जब सुनिदैन सरसराहट र गुनगुनाहट
जीबनको लय हराएको भान भैरहेछ
`बाबु यता आऊ´ भन्दा उता जाने छोरो
मेरो तस्बिर मुनि घोप्टीरहन्छ स्थुल बनेर
ढोका थुनेर टिकटक मा नाचिरहने मेरी छोरी
धुमधुम्ती बसिरहन्छे मुर्ति बनेर
अनि बिस्तारामै चिया चाहिने मेरा पतिको
आफ्नै लत सुतिदिन्छ अल्छि गरेर ।
म हुन्जेल लाग्थ्यो सबलाई
घाम उदाउनु र अस्ताउनु कुनै नौलो हैन
फूल फुल्नु र झर्नु कुनै नौलो होइन
हावा चल्नु र पात हल्लनु कुनै नौलो होइन
त्यसरी नै डाइनिङ्मा ब्यञ्जनहरु सजिईनु कुनै नौलो हैन 
बोली झर्ने बित्तिकै सबै थोक टक्रिईनु नौलो हैन 
अथवा लुगाहरु पट्टाईएर दराजमा पुग्नु
या टेबलहरु पुछिएर टिलक्क टल्कनु
या भोकको महसुस नहुँदै खाना भेटिईनु
या बिसन्चो नहुँदै दबाई भेटीईनु 
कुनै नौलो हुँदै होइन ।
आजकल, किन पाक्दैन त्यहि भाँडोमा मिष्ठान्न भोजन?
किन हाँस्दैनन् तिनै अनुहार खुसीले?
किन उज्यालिदैन घर सय वाटको बत्तीले?
`भर्चुवल वर्ल्ड´मा दुनियाँ भेट्ने मेरो छोरो
किन भे्ट्दैन `गुगल´मा आफ्नी आमा?
साथि सङ्गी सँग संसार भेट्ने मेरी छोरी
किन देख्दिन मलाई कसैका आँखामा?
आफ्नै आफ्नाहरुका भिडमा हराएका मेरा स्वामी
किन पाउँदैनन् एकजोडी बाटो हेरिरहने अँगालो?
टुहुरालाई सायद पढाउनु पर्दैन आमाको परिभाषा
विधुरलाई सायद अर्थ्याउनु पर्दैन अर्धाङ्गिनिको अर्थ ।

धुवाँ बनेर शरीर छोडेको मेरो आत्मा 
निश्वास बनेर चाहार्छ 
मेरा घरका चोटा- चोटामा 
मेरा मुटुहरुका कोठा-कोठामा
देख्छु असरल्ल लुगाहरु 
छरपस्ट भाँडाहरु
नपुछिएका टेबलहरु
नबढारिएका कसिङ्गरहरु
नमिल्याईका बिस्तराहरु
नफर्काइएका क्यालेन्डरहरु
सोध्छु आफैसँग यो घर हो कि खण्डहर?
सास छुटेर शुन्यमा हराईसकेकी म
फेरि किन देख्छु जताततै आफ्नै उपस्थिति?
घरि भोक भएर उनिहरुका पेटमा दगुर्छु
कहिले शोक भएर उनिहरुका छातीमा भकुर्छु
कहिले छट्पटी भएर आखाभरि बर्षिन्छु
कहिले ज्वरो बनेर शरीर भरि रन्किन्छु
र आज म छैन तब जताततै छु
छोरीका आँखाभरि
छोराका मनभरि
पतिका सयनकक्ष भरि
तर जताततै ब्याव्त छ 
अन्यौलता, अस्तब्यस्तता
बत्ति निभेको महल जस्तै
चकमन्नता
अनि नि:शब्द सन्नाटा ।


Comments

  1. धन्यवाद बैनी यो प्रेमका लागि । आभारी छु ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न