गीतारानी बलाल
“बाबा छिटो घर आउनु न !” छोरी कुसुमले ल्यापटपमा भिडियो कल गरेर बाबालाई अनुरोध गरिन् ।
चार वर्षकी छोरीको तोते बोली सुनेर सेनामा जागीर गरिरहेका रतनको मन कुटुक्क भयो ।
भावुक हुँदै बिस्तारै भने, “हस् छोरी म छिटै आउँछु ल !”
रतनले चैत्र महिनामा घरविदा जानु पर्ला भनेर चार महिना अगाडीदेखि बिदा संचित गरेका थिए । कोरोनाको कारण लकडाउन भएपछि बिदा जाने कुरै भएन ।
छोरीले सोधिन्, “कहिले आउनुहुन्छ ?”
“भोलि आउँछु ल पुन्टु । थपक्क बस ल ।”
यसो भन्न थालेको धेरै भैसकेको थियो । बाबाको जवाफ छोरीलाई चित्त बुझेन । उनले भनिन्, “उम हजुर त जहिले पनि भोलि आउँछु भन्नु हुन्छ, आउनुहुन्न ।” कुसुम रुन थालिन् ।
बाबा केही बोलेका थिएनन्, एकछिन्पछि उनैले घुर्की लगाइन्, “अब म बोल्दिन, कट्टी ।”
रतनको मन कटक्क खायो ।
“हेर त पुन्टु मैले कति धेरै किन्डरजोय किनिदिएको छु तिमीलाई । भोलि चाहिँ पक्कै आउँछु, हस भन ज्ञानी छोरी ।”
बाबा र छोरीका बिचमा कुरा हुँदै थिए, रमा आइन् । उनले भनिन्, “अरु सबैलाई बिदा मिल्छ, हजुरलाई मात्र । छोरीको माया नलागेर हो की !”
श्रीमतीको कुरा सुनेपछि रतनले खुशीको भाव व्यक्त गर्दै गीत गाए, “यहाँ देशको छ चिन्ता तिमी मायाँ मायाँ भन्छ्यौ, साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छ्यौ ।”
“छि ! हजुर त जहिले पनि मजाक गरेर टार्नुहुन्छ ।”
रतनले केही भन्न खोज्दै थिए, सेटमा आवाज आयो, “ओभर पर्वतको दुर्लुङ्ग काफलचौरमा पहिरोले दुई घर पुरेछ । नौ जना वेपत्ता छन् रे । उद्धारमा जानुपर्ने भयो । तुरुन्त तयार हुनु ।”
“रमा फोन राखेँ ल, पछि कुरा गरौँला ।” भन्दै रतन छिटोछिटो चुस्ता(फौजी पोशाक) र बुट लगाउन थाल्यो । त्यसपछि कत्ति पनि ढिला नगरी रतन गन्तव्य स्थलतिर लम्कियो ।
मीठो रचना
ReplyDeleteअत्ति मन छुने
ReplyDelete