बन्दमा तातेका सचेत अभिभावक @इन्दिरा अर्याल


                   इन्दिरा अर्याल

      विहान १० बज्नै लागेको थियो । रूपन्देहीको देवदह नगरपालिका, घोडाहाका धनप्रसाद चापागाइँ तीन पाङ्ग्रे हुवीलचियर गुडाउँदै छोरीहरूले पढ्ने विद्यालयमा पुग्नुभयो । हुवीलचियरको पछाडि कक्षा ४ र ७ मा पढ्ने छोरीहरू उभिएका थिए । नानीहरूको हातमा एकएक वटा कापी थिए । गेट अगाडि ह्वीलचियर रोकिएपछि नानीहरू ओर्लिए । छोरीहरू ओर्लिएपछि ऊनीहरूलाई सम्झाउँदै चापागाईंले भन्नुभयो—सरहरूलाई भेट, कापी लेऊ । नजानेको सबै सोध्नु । भोलिको लागि अर्को प्रश्न पनि मागेर ल्याउनु । म एक घण्टा जतिमा आउँछु । यही ठाउँमा आएर बस्नु है । हिंड्दै घर नजानु ।” छोरीहरूलाई सबैकुरो सम्झाएपछि धनप्रसाद ह्वीलचियर फर्काएर निस्किए । 


बुटवल औद्योगिक क्षेत्रमा सञ्चालित साबुन कारखानामा काम गर्दागर्दै १० वर्ष अगाडि एउटा खुट्टा गुमाएका धनप्रसादले अहिले २ वटा गाई पालेर त्यसैको आयस्ताबाट जीविका चलाइरहेका छन् । औपचारिक शिक्षा लिने अवसर नपाएका उनले छोरीहरूलाई भने पढाइलेखाइ आत्मनिर्भर बनाउने सपना बुनेका छन् । बन्दको बेला छोरीहरूको पढ्नेकाम बन्द नहोस् भनेर पढ्ने, लेख्ने, टिभी हेर्ने आदि कामकोलागि समयतालिका बनाइदिएका छन् उनले ।“बन्द भएको २ 

हप्ता जति त ऊनीहरूलाई खेल्न, रमाउन दिएँ ।  तर जब लकडाउन लम्बिने छाँट देखियो, स्कुल खुल्ने कुनै संकेत देखिएन, त्यसपछि भने आफुले जसरी जाने त्यसरी नै पढ्ने वातावरण बनाइ दिएँ ।” स्कुल परिसरमा भेटभएका चापागाईंले कुरो थपे, “बैशाख अन्त्यबाट सरहरु पनि घरमा आउन थाल्नुभयो । सरहरू घरमा आउँदा साह्रै खुसी लाग्यो । नानीहरूले पनि आफुले लेखेका कापीहरू सरहरूलाई देखाए । छोरीहरूको पढाइप्रतिको लगन देखेर सरहरू निकै खुसी हुनुभयो । अहिले त स्कुलबाटै उनीहरूले गृहकार्य पाएका छन् । त्यही गृहकार्य बुझाउन अहिले उनीहरूलाई लिएर स्कुल आएको हुँ ।”  

कोरोनाको त्रास र प्रभावले गर्दा बन्द भएका  विद्यालयहरूमा बिस्तारै चहल पहल वढ्न थालेको छ । नियमित विद्यालय खोल्ने अवस्था नरहेपछि बैकल्पिक सिकाइका विधिहरू अपनाएर सिकाइ अगाडि बढाउने सन्दर्भमा अभिभावकहरूको पनि चासो र सरोकार वढ्न थालेको छ । अरुबेला छोराछोरीको नतिजा हेर्न र वार्षिकोत्सवमा पत्र काटेर बोलाउँदा समेत विद्यालय नआउने अभिभावकहरू आजकाल भने छोराछोरीको पढाइको लागि धाउन थालेका छन् । विद्यालयमा विद्यार्थी र शिक्षकको भन्दा अभिभावक र कर्मचारीको चहलपहल बढेको छ । ३ जना नातिनातिनाको कापी लिएर आएकी सीता परियार पनि खुसी र उत्साहित थिइन् । “घरमा  यसै बस्न भन्दा त कति हो कति जाति भएको छ । हामीले मात्रै पढ पढ भन्दा उनीहरूले टेर्दै नटेर्ने । आजभोली त लेख्न लागेका छन् । नेट र टिभीबाट पढाइ भाछ भन्थे । हाम्रोमा नेट पनि नभाको । टिभीमा पनि पैसा सकिएको थियो । त्यहीभएर केटाकेटीले पढ्न पाएका थिएनन् । सधै स्कुल गएकोजस्तो त के हुन्थ्यो र ? तर नहुन भन्दा त धेरै नै राम्रो भएको छ ।”  

बुटवल देविनगरकी विन्दु भट्टराई असार महिनाभर बिहानको समयमा घरबाट निस्किनन् । बिहान ८ बजेपछि छोराको  अनलाईन कक्षा हुने भएकोले त्यो नछुटोस् भन्नेमा ऊनी निकै साबधानी अपनाउँथिन् । आफ्नो मोबाइलबाट छोराले पढ्थ्यो । ३ कक्षामा पढ्ने छोरालाई ऊनले जुमलिङ्क खोलिदिन्थिन् । सबैकुरा ठिक्क भएपछि छोराले पढ्थ्यो । पढाइ चलुञ्जेल दुई घण्टाको लागि बाबुआमा मध्ये एकको काम छोरालाई गाइड गर्नु हुन्थ्यो । अहिले भने नीजि विद्यालयहरूले अनलाईन कक्षा बन्द गरेका छन् । “स्कुलले पढाउन छोडेपछि त किताब कापी छुन नै मान्दैन । अब कसैसंग ट्यूसन राख्ने सोँच बनाएकी छु । खेलेरै बस्ने र केही पनि पढेनन् भने त बालबालिको पढ्नमा मन फर्कन गाह्रो हुन्छ ।” उनको भनिन् । 

विद्यार्थीको पहिलो पाठशाला घर र पहिलो शिक्षक बुवाआमालाई मानिन्छ  । आफुले आफ्नो समयमा विभिन्न कारणले पढ्न नपाएका अभिभावकहरू आफ्नो पढ्ने सपना पनि छोराछोरीबाट पुरा गराउन खोजिरहेका हुन्छन् । नानीबाबुहरूले कखरा र १, २, ३ का दुना, पहाडा फरररर भन्दा बुबाआमामा आउने खुसी ज्यादै रहर लाग्दो हुन्छ । आफुले दुःख पाएर पनि धेरै अभिभावकले छोराछोरीको लागि समय, साधन र स्रोत खर्च गरिरहेका हुन्छन् । आफ्नो भोक तिर्खा च्यापेर 

ऊनीहरूले छोराछोरीको शिक्षा र स्वास्थ्यमा ख्याल गरिरहेका हुन्छन् । बन्दाबन्दीले कति अभिभावकको रोजिरोटी खोसिएको छ । कतिले आधा सुविधामा काम गरिरहेका छन् । कतिपयले परिवारका सदस्य गुमाएका छन् । जे जस्तो अवस्था आइपरेपनि ऊनीहरूको सबैको पहिलो चिन्ता भनेकै छोराछोरीको पढाइ बनेको छ ।

 अहिले खासगरि धेरै सामुदायिक र केही नीजि विद्यालयहरूले दुरी कायमगरेर ठाउँठाउँमा घुम्ती कक्षा तथा सामुदायिक पढाइ सञ्चालन गरिरहेका छन् । अभिभावक, शिक्षक तथा स्थानीय सरकारको पहलमा खुलेका त्यस्ता कक्षाको निगरानी पनि अभिभावकहरूले नै गरिरहेका छन् । “पहिले भर्ना अभियान तथा अरुवेलाको घरदैलो भेटमा उहाँहरूकोमा जाँदा खासै वास्ता नगर्ने अभिभावकले पनि अहिले घरघरमा जाँदा शिक्षकहरुसँग धेरैनै खुसी हुन थाल्नुभएकोछ  । लकडाउनकै बीचमा हामी २ पटक घरघर पुग्यौं । पहिलो चरणमा विद्यार्थीको अवस्था बुझियो । दोस्रो चरणमा गृहकार्य दिनेकाम गरियो । अहिले त हामी जानेभन्दापनि उहाँहरूलाई नै विद्यार्थीको कापी लिएर सकुलमै बोलाउने गरेका छौं । पहिला पहिला उहँहरूकोमा जाँदा विद्यार्थी खोज्न आएका हुन् जस्तो सोँचेर केही अभिभावक त तर्केको पनि पाइयो । अहिले भने विद्यार्थीलाई खुराकी लिएर आएजस्तै मान्नुहुन्छ । उहाँहरूबाट धेरै धेरै धन्यवादका शब्दहरू पनि पायौं ।” देवदह माविकी शिक्षक अम्बिका कंडेलले सुनाउनुभयो ।

 प्रधानाध्यापक केशवप्रसाद घिमिरेले विद्यालयले भूगोलअनुसार दिन बाँडेर गृहकार्यको कापी लिएर विद्यार्थी र अभिभावकलाई विद्यालयमा बोलाइएको र जम्मा भएका कापीहरू एक दिन राखेर चेकजाँच गर्नेगरिएको बताउनु भयो ।  विद्यालयले एकएक सातामा विद्यार्थीलाई दुरी कायम गरेर स्कुलमै बोलाइ नजानेको कुरा बताइदिने र अर्को पटकको गृहकार्यको लागि प्रश्नपत्र दिने गरेको छ । त्यो प्रक्रिया अन्तर्गत दोस्रो चरणको गृहकार्य सकेर विद्यार्थीहरूले ल्याएका छन् । यतीबेला तेस्रो चरणको प्रश्नपत्र वितरण भइरहेको कुरो उहाँले बताउनुभयो । “सरकारले निर्देशन गरेको बैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनेक्रममा हामीले यो विधि अपनाएका हौं । यसको प्रभावकारिता, सरकारको निर्देशन र परिवेश हेरेर अर्को विधि पनि अपनाउन सकिन्छ ।” उहाँले थप्नु भयो । “कोरोना त्रासकै बीचमा बैशाख पहिलो साता नतिजा तयार ग¥यौं । त्यस पछि कार्यविभाजन गरेर विद्यार्थीलाई पुस्तक विरण गरियो । फोनमार्फत विद्यार्थीहरूको सम्पर्कमा रहने कोशिस गरियो । असार पहिलो साताबाट भने नियमित नै विद्यालय आउने जाने गरेका छौं ।” घिमिरेले विद्यार्थीको घरघरमा गई अभिभावक र विद्यार्थीसंग घरभेट गरी फर्केपछि अभिभावकहरूको चासो वढेको देख्दा आफुहरु पनि उत्साहित भएको बताउनुभयो । 

साधारण अभिभावकहरूमा त उत्साह बढेको छ भने पढेलेखेका अभिभावकहरूले त झन् यो वेला असाध्यै संवेदनशिलता अपनाएको पाइन्छ । सिद्धार्थ क्याम्पसका प्राध्यापक रमेश पाण्डे आफुले विद्यार्थीलाई नियमितजसो जुममार्फत पढाउनुहुन्छ । पाण्डेले आफुले पढाउनेमात्र होइन घरमा रहेका २ जना नातिनातिनालाई पनि समय तालिका मिलाएर पढ्ने वातावरण बनाइदिनु भएको छ ।  हरेक दिन विहान १ घण्टा 

योगा र ध्यान । नास्ता खाएर २ घण्टा पढाइलेखाइ  केही समय मनोरञ्जन, त्यसपछि खाना  दिउँसोमा पनि कतिवेला पढ्ने, कतिबेला लेख्ने, कतिवेला टिभी हेर्ने, कतिवेला मोवाईल चलाउने भन्ने उहाँको  घरको समयसारिणी हो । आफ्नो काम नगरेसम्म खान पनि पाइँदैन भन्ने नातिनातिनाको दिमागमा परेको छ । त्यसोभएपछि बन्दले ऊनीहरू बिग्रिए भन्ने महशुस हुन पाएको छैन । “स्कुल कलेज खुल्दा म पनि केही व्यस्त हुन्थें । खासै समय दिन पनि सक्दनथें । अहिलेत धेरैजसो समय ऊनीहरूलाई पढाउने र सिकाउनेमा नै समय बितेको छ । बेलाबेला चिच्च्याएर पढ्न लगाउँछु । कहिले कथाहरू सुनाउँछु । पहिला त स्कुल नजाँदा तालिकाअनुसार पढ्न अलि अप्ठेरो मानेका थिए । अहिले त बानी प¥यो, रमाएका पनि छन् ।” पाण्डेले भन्नुभयो । पढेका नपढेका जे जस्तो भएपनि अभिभावकले अलिकता समय र ध्यान दिनसक्दा विद्यार्थीको पढाइ र सिकाइमा धेरै फरक पर्छ । यस्तो बन्दको अवस्थामा त झन् विद्यालय र शिक्षकलाई दोष दिएर उम्कने गर्नु हुँदैन । बालबालिकालाई सक्षम र जिम्मेबार बनाउन शिक्षकहरूको जस्तै अभिभावकहरूको पनि अहम् भूमिका हुन्छ । 

लामो समयको लकडाउन वा बन्दाबन्दीमा विद्यार्थीहरु घरभित्र नै थुनिएका छन् । तर घरपरिवारभित्र पनि धेरै संभावनाहरु हुन्छन् । अभिभावकले इच्छाशक्ति देखाउने र विद्यालय तथा शिक्षकहरूको समेत सम्पर्क र संवादमा विद्यार्थीलाई सिकाइमा लगाउने हो भने यो बेलाको पढाइ र सिकाइमा अझै प्रभावकारिता पक्कै बढ्ने छ । पढाउने शिक्षकले मात्रै हो । विद्यार्थीको जिम्मा विद्यालयले लिनै पर्छ भनेर मात्रै बस्नेहोभने त्यसबाट ठूलो घाटा हुनसक्छ । बिद्यालय बन्दको बेला अभिभावकको छोराछोरीहरूको पढाइको बारेमा बढेको चासोलाई कायम राख्न सक्ने हो भने पढाइ र सिकाइमा पक्कै फाइदा पुग्ने छ । 

Comments

  1. विद्यार्थी, अभिभावक र शिक्षकको अहिले को अवस्था मा‌ भोगेको भोगाइ बारेमा देवदह मा .वि. लगायत अन्य विद्यालय को चित्रण गरिएको कुरा

    ReplyDelete

Post a Comment

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न