न्यायिक तराजू :सिंगै अदालतमा न्याय नदेखेपछि
कविता
सिंगै अदालतमा न्याय नदेखेपछि
देशमा
दन्डहीनतै दन्डहीनता देखेपछि
भिडमा कुरा काट्छन् आम मान्छेहरू
न्यायाधीश
कानुन
बहस पैरवी
वकिल
साक्षी, प्रमाण र न्यायिक फैसलाकाे
दृश्टि र दण्डहीनताकाे
र
कुरा उप्किन्छन्
कुरा अड्किन्छन वर्षाै पुराना नजिरहरूमा
थपिन्छ नजिर
अदालत परिसरमा उभिएर
मान्छेहरू भन्छन्
पट्टी बाँधिएको आँखाले
तराजू समातेर कहाँ देख्छ र ?
सिनाे र सून
कालाे काेटकाे कानुनी व्याख्या
स्वयं अदालते बुझ्न नसकेकाे न्यायलाई
सुक्ष्म रुपले देख्दैनन् अरु पनि
किनकी
यहाँ
राम शाह छैनन् गाेर्खा छ
तामा तुलसी छ
चाैतारी छ
मातृ न्यायकाे काखमा
साैतेनी आमाकाे हृदय छ
काेही सन्तान
लाज बचाउन जननीकाे काखमा बस्छ्न
र
हात फैलाउँछन्
काेही सन्तान
वस्त्र उतारेर भुईँमा बस्छन्
मातृ हात फैलाउन लगाएर
लाम्टा चुसिरहेका हुन्छन्
नाङ्गो आकृतिमा उतारिएकाे
फैसला बुझ्ने टाठाबाठाहरू
आँखा चिम्लिदिन्छन्
जसरी
न्यायकाे उज्यालाे देख्दैन
पट्टी बाँधिएर
अन्धकारमा थुनिएकाे
तराजूकाे आँखा ।
तर ठाेकिन्छ नजिक बनेर
आँखामा फैसलाकाे दृश्य
कानमा आवाज ।

Comments
Post a Comment