लघुकथा :- भगवान <> उसको आमा केही बोल्न खोज्दै थिइन् तर वाक्य फुटेन्। एकहोरो ट्वाल्ल हेरिरहिन।
"""""""""""""""""""""""
चोलाकान्त एक आस्तिक मान्छे। उसले मनमनै सोंच्यो, "यो संसारमा भगवान को होला? कहाँ होलान्? मैले यो कुरा जसरी भए पनि पत्ता लगाउनु पर्छ।"
एक दिन ऊ भगवानको खोजीमा घर परिवार छोडेर हिड्यो। ऊ घुम्दा घुम्दै मन्दिर, गुम्बा, चर्च, मस्जिद जताततै पुग्यो तर पनि भगवान भेट्न सकेन्।
ऊ घना जंगलको बाटो हिड्दै थियो। बाघले एउटा भैंसीको पाडोलाई झम्टिन खोज्दै थियो। माउ भैसीले आफ्नो ज्यानको वास्तै नगरी पाडोलाई बचाउन बाघसँग सिंगौरी खेल्दै थियो।
जंगल सकिनासाथ एउटा गाइगोठ आइपुग्यो। एउटी गाइ ब्याउने तरखरमा थिई। असैह्य प्रवस वेदनाले कहिले बस्ने र कहिले उठ्ने गर्दै थिई। छटपटाउँदा छटपटाउँदै बाच्छो जन्माई। आफ्नो वेदना भुलेर बाच्छोलाई चाट्दै दुध खुलाउन थाली।
तीन वर्षपछि ऊ आफ्नो घर फर्कियो। उसको आमा अन्तिम सास फेर्दै थिइन्। जीवको अन्तिम क्षणमा पनि उसकै नाम बोलाउँदै थिइन्।
ऊ आमाको नजिकै गएर भन्यो, "आमा ! म आएँ।"
उसको आमा केही बोल्न खोज्दै थिइन् तर वाक्य फुटेन्। एकहोरो ट्वाल्ल हेरिरहिन।
ऊ भन्दै थियो, "आमा ! मैले भगवान भेटें नि। साँच्चै यो संसारमा आमा नै भगवान हुन्।"

Comments
Post a Comment