लघुकथाः बाबुको सम्पति “हैन बुबाले आज पनि २५ लाख दान दिनु भएको हो ?”
“आजको कार्यक्रममा बरिष्ट समाजसेवी भानुभक्त शर्माले स्थानीय बृद्धाश्रमको विकासको लागि २५ लाख नगद सहयोग गर्नु भएकोमा वहाँलाई सम्मान गरियो ।”
साथीहरुसँग तास खेलीरहेको गौरव जुरुक्क उठ्यो । रेडियोबाट आइरहेको सो समचारले उसलाई चिन्तित बनायो । करोडौ सम्पतिका मालिक भानुभक्तको एक्लो छोरो गौरब महाअल्छि बेकम्मा र कुलतमा फसेको थियो ।
करिब एकबर्ष अगाडिदेखि बाबुको खर्च गराइ र समाजसेवा तथा दानमा लगानि देखेर उसको मनमा चिसो पसेको थियो । आजको समाचारले त झन् उसको होसै उड्यो । उसले मनमनै सोच्यो “बुढाले त सबै सक्छन् कि के हो ? आज चाहीं कुरा नगरी भएन ।”
साँझमा बाबुछोराको कुरा शुरु भयो । “हैन बुबाले आज पनि २५ लाख दान दिनु भएको हो ?”
“हो नि छोरा । आज म धेरै खुशी छु । सिङ्गो समाजले मलाइ सम्मान गर्यो । अभिनन्दन् गर्यो । दुःख पाएका बृद्धहरुकालागि सहयोग गर्न पाएकोमा मलाई आत्मासन्तुष्टी मिलेको छ ।”
“यो बर्षभरीमा हजुरले करोड भन्दा बढी दान दिई सक्नु भयो ।”
“ठीक भन्यौ छोरा । यो बर्ष मैले १ करोड १० लाख दान गरें । आज म खुशी छु । किनकी तिमीपनि हिसाब राख्दै रहेछौ । मैले यत्तिका सम्पति कमाउँदा तिमीले कसरी कमाउँनु भयो भनेर कहिल्यै सोधेनौ तर आज खर्च गरेको त चासो दियौ नि ?”
छोरा मौन रहेको मौकामा उनले थपे,“पैसा र पानी उस्तै हो छोरा । जमाएर राख्यो भने दुषित हुन्छ । यीनलाई त बग्न दिनुपर्छ ।”
गौरबले केही बुझेन । तथापि फेरि भन्यो, “यत्रो पैसा ब्यार्थमा खर्च गर्दा हजुरलाई छोराको भबिष्यको अलिकति पनि याद आएन ?”
भानुभक्तले गम्भिर भएर भने, “याद आएको थियो । तर सँगसँगै छोराको बलिष्ठ शरीर, हात खुट्टा र बुद्धि बिवेकयुक्त दिमागको पनि याद आयो । मैले उसको सुन्दर भबिष्यको लागि गरेको लगानि र दिइएका अवसरहरुको पनि याद आयो । कम्तिमा आत्मनिर्भर हुनुपर्छ भनी बारम्बार उसलाई दिइएका ज्ञान र चेतनाहरुको सबैभन्दा बढी याद आयो । मलाई समाजसेवी बनाउन प्रेरणा दिएकोमा तिमिलाई पनि धेरै धेरै धन्यवाद छोरा। मेरो यो अभियान अझै जारी रहनेछ।” छोरो मौन रह्यो।

Comments
Post a Comment