रीता ताम्राकारका ६ रोज्जा मुक्तक

                         रीता ताम्राकार : इटहरी 
 
मुक्तक-१

जीवन यात्रामा कहिँ कतै अधुरो कथा छोडिंदो रहेछ
थाहै नपाई अनायासै कहिले विस्वासहरु तोडिंदो रहेछ
आफुले चाहेर मात्र पनि कहाँ भेटिंदो रहेछ र गन्तव्य
हिंडदा हिंडदै हिंडेको बाटो एकदिन अन्तै मोडिंदो रहेछ !!

मुक्तक-२

आफैंलाई बुझ्न नसक्नेले अरूलाई बुझ्छु भन्नू व्यर्थ 
मायाको आसमा मरुभूमि मन ठाउँठाउँमा खन्नु व्यर्थ 
भो!नपिट डंका आफ्नोपनको पराय बनेर रहेकै राम्रो
रावण नै रहेछौ चिनिसकें अब नक्कली राम बन्नु व्यर्थ !!

मुक्तक -३

शोषक बनेर चुस्दै शोषण विरुद्धमा सिर्जना नगरेकै राम्रो 
बौद्धिकताको दम्भ च्याप्दै चुचुरोबाट फेदमा नझरेकै राम्रो
समय सधैंभर दाहिना हुँदैन महाशय बुझी राख्नु गहिरोसँग 
आफूलाई कथित विधाता सम्झी अरूको खुसी नहरेकै राम्रो !!

मुक्तक-४
कोहि कोहि मानिस मुख्ले ठूला ठूला चट्टान फोर्दा रहेछन् 
भ्रमको जालो बिछ्याएर आकाशका जूनतारा चोर्दा रहेछन् 
कसै गरि पनि नसकिने भईयो , यी अदभूत चटकेहरुसँग
सधैं सोझो मनलाई  षड्यन्त्रका नङग्राले कोपार्दा रहेछन् !!!

मुक्तक-५
परिपूर्ण संसार मात्र एउटा घटनाले खाली हुँदो रहेछ
ईश्वरको लिला बुझेर बुझि नसक्नुको जाली हुँदो रहेछ 
एउटै समय,परिवेश अनि परिस्थितिको एउटै खेल पनि
कसैको लागि ताली त , कसैको लागि गाली हुँदो रहेछ !!

मुक्तक-६

भ्रमको छालमा घुमाउने एउटा मियो रहेछ माया
तेल बिना नै हृदय भित्र बल्ने दियो रहेछ  माया
एक प्रहर विस्वासको खडेरीले मन सुकेको बेला
मुटु घोची च्वास्स व्यथा दिने सियो रहेछ माया !!

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न