रोज्जा -७ मुक्तक
रीता ताम्राकार
मुक्तक-१
एकातिर अदृश्य महाशत्रु कोरोनाको भयावह कहर छ
यस्तै बेला छिमेकीलाई हाम्रो माटो मिच्ने ठूलो रहर छ
शत्रुलाई जितेर,राष्ट्र बचाउँदै आफू निर्धक्क बाँच्नको निम्ति
नफुटी नटुक्री समस्त नेपाली एकभई जुट्ने प्रहर छ !
मुक्तक-२.
सत्तालाई मादल सम्झी आफ्नै तालमा बजाउँछ नेता
कहिले देशलाई नै गहकिलो चेक सम्झी भजाउँछ नेता
अहो ! कस्तो अदभुत क्षमता जादुगरभन्दा एकरत्ति कम छैन
कहिले लै लै कहिले थै थै गरि निर्धक्क जनता कजाउँछ नेता !!
मुक्तक-३
ताली र वाहवाही पाउन आफ्नै गुट हुन पर्छ रे
इज्जत र सम्मान पाउन दामी शुट हुन पर्छ रे
सुनिन्छ, आलु प्याज जस्तो सबैसँग मेल खान
आफ्नोबारेमा जे भनाउन नि , छुट हुन पर्छ रे !!!!
मुक्तक-४
सकेसम्म आफ्नो कर्तव्यमा कहिले चुक्दिन म
तर,आत्मसम्मान मारेर पनि कहिले झुक्दिन म
जे सोच्छौ सोच मलाई छोडेकी छु तिम्रै खुसीमा
डराएर सामाजिक ओढारमा कहिले लुक्दिन म !
मुक्तक-५
अनगिन्ती छलका शृङ्खला चलिरहन्छ मेरो देशमा
काईतेले सोझालाई निरन्तर छलिरहन्छ मेरो देशमा
दुर्भाग्य भोकालाई गाँस छैन , नाङ्गालाई छैन कपास
चोखो विश्वास कपटी रापमा जलिरहन्छ मेरो देशमा
मुक्तक-६
सुन्छु अचेल सजिलोसँग न्याय किनबेच गरिन्छ रे यहाँ
झुठो आश्वासनका अनगिन्ती चकलेट छरिन्छ रे यहाँ
छुट्ने छुटी रहन्छन् लुट्ने लुटी रहन्छन् यहाँ रित यस्तै
सानाको गाँस खोसेर ठूलाको खल्ती भरिन्छ रे यहाँ !!
मुक्तक-७
यत्र - तत्र असरल्ल बनेर छरिएको छ जिन्दगी
त्यस्तै एक अमुर्त चित्रमा कोरिएको छ जिन्दगी
असम्भवलाई सम्भव बनाउने जमर्को गर्दागर्दै
अनगिन्ती चोट र खोटले भरिएको छ जिन्दगी !!

Comments
Post a Comment