भुवन शिवाकाेटीकाे हाइकु संग्रह छरिएका पाईलाकाे समालाेचकिय दृश्टि
नुरज भट्टराई ‘नदी इलाम, हाल काँडाघारी काठमाण्डौ
मातापिताद्वय डम्बरकुमारी सिवाकोटी र खड्गप्रसाद सिवाकोटीका पुत्ररत्नको रूपमा दोलखा जिल्लाको कालिञ्चोक न पा सुनखानी गाउँमा वि सं २०३३ सालमा जन्मेका स्रष्टा हाल काठमाण्डौमा नै बसेर साहित्यसेवा गरिरहेका छन्।
भुवनराज सिवाकोटी एउटा कित्ताका दुई सृजनशील शोपानउन्मुख व्यक्तित्व रहेछन्। उनका दुई पाटामध्ये एउटा सङ्गीत र अर्को साहित्य पर्दछन् । साहित्य अन्तर्गत खण्डकाव्य र महाकाव्य बाहेक सबै विधामा प्रायः कलम चलेको देखियो । कविता अन्तर्गत गद्य कवितामा बढी लगानी रहेको देखिन्छ साथै अरू विधामा भन्दा कवितामा शसक्त ऊर्जा भर्न सफल पनि देखिन्छन् भने कवितामा पनि गद्य कवितामा जति ऊर्जाशील छन् । कविताको लघुत्तम रूप मुक्तक , लघु रूप फुटकर कविता र गजल लगायत आयातीत विधा हाईकुमा समेत सशक्त कलम चलाएका छन् ।
साहित्यमा वर्तमान समयको विकृति विसङ्गति , न्याय सम्पादन, अन्याय अत्याचार, र बलात्कार जस्ता विषयवस्तुलाई समावेश गरी उक्त घटनाहरूलाई निरुत्साहित गर्दै देशभक्तिमूलक रचनाहरूको सृजना गरेका छन्। भने सङ्गीतको पाटाबाट पनि देशको गौरबलाई माथि उठाउँन आफ्नै शब्द, स्वर र सङ्गीतमा करीब तीन दर्जन गीतका म्युजिक भिडियोहरू श्रोता दर्शकहरूमाझ सार्वजनिक गराइसकेका छन्। साहित्य र सङ्गीतका गरी हालसम्म करीब दर्जन ( ९-१२ ) भन्दा बढी कवितासङग्रह र साङ्गीतिक कृतिहरू प्रकाशित गरी सार्वजनिक गरिसक्नुभएको छ . त्यसैगरी दर्जनभन्दा बढी प्रकाशोन्मुख अवस्थामा पनि रहेको देखिन्छ। करीब दशवटा विभिन्न साहित्यिक संघसंस्थाबाट सम्मानित, अभिनन्दित एवं पुरस्कृत भइसकेका स्रष्टा सिवाकोटी करीब आधा दर्जन साहित्य र सङ्गीतका संघसंस्थाका संस्थापक र आजीवन सदस्यको पदमा संलग्न वा आवद्ध भई अनवरत सेवासमेत गरिरहेको पाइन्छ ।
उपर्युक्त कृति छरिएका पाइला हाइकुसङ्ग्रहdf साहित्यकार पुष्कर लोहनीको भूमिका , लेखकीय मन्तव्य र प्रकाशकको भनाइ हुँदै पृष्ठसंङ्ख्या एकबाट हाइकु शुरु भएको छ र करीब ३३ पानाको दुवै पाटामा एक पानामा दुई लाइन र यसमा करीब बीस थान गरी दुई पाटामा जम्मा चालीस थान हाइकु अँटाई करीब १३१४ थान हाइकु आफ्नै गतिमा हुँइकिरहेको भेटिन्छ। हाइकुको मात्र फैलाहटले ६६ पृष्ठ देखाउँछ भने बाँकी आठ पाना वा १६ पृष्ठलाई सङ्केत दिइएको छैन ।
छरिएका पाइलाको गुदी खोतल्दा
छरिएका पाइलालाई सतही अध्ययन गर्दा संरचनाका हिसाबले , भावका हिसाबले , विषयवस्तुको हिसाबले , रस अलङ्कारको हिसाबले , बिम्ब प्रतीकको हिसाबले , बक्रोक्ति र व्यञ्जना आदिको हिसाबले हेर्न सकिन्छ तर सबै संभव नभएपनि समग्र हिसाबमा हेर्ने प्रयत्न गरेको छु।
कुनै पनि रचनाको कुरा गर्दा पहिले स्वरूप वा संरचना आउने गर्दछ । त्यसमा पनि विधागत हिसाबले पहिचान र भाव पक्ष प्रमुख रहन्छ । फुटकर कवितामा केन्द्रीय भाव प्रबल रहने हुँदा कविताको समकक्षी आयातीत विधा भएपनि हाइकुलाई संरचनागत हिसाबले खासै फरक पर्दैन । बाह्य अक्षरात्मक संरचना ५, ७ र ५ हुने र विषेश गरी मुक्तलय हुने भएकोले सबैले यसमा इच्छाशक्ति हुनेहरूले लेखेका छन् । हेर्दा सूक्ति जस्तो पनि अनुभूति गर्न सकिन्छ । थोरैमा धेरैको संभावना रहन्छ । विशेषत आलङ्कारिक हुनुपर्छ भन्ने तर्क रहन्छ मेरो । सैद्धान्तिक हिसाबले प्रकृतिवर्णन र ॠतुवर्णनसँगै जीवन र जगतको अनिवार्य प्रश्तुति भनिएपनि कला कलाको लागि वा कलाको लागि विचार पक्ष भन्ने कुरा ठूलो हो । तर यो हाइकुसङ्ग्रहमा विचार र कला दुवै भेटिन्छ।
विषयवस्तुको हिसाबले सिवाकोटीका हाइकुहरू विचार पक्ष धेरै र युगीन चेतना कम भेटिन्छन् ।जसमा कलाका लागि कला भन्ने सन्दर्भ जोडिन्छ। उनको समसामयिक विषयवस्तुले यौटा पहाडी श्रृङ्खलानै खडा गरेको छ भन्दा पनि फरक नपर्ला यो आजको आवश्यकता पनि हो । प्रकृति र ॠतु भनेकै सैद्धान्तिक पक्ष जो युगीनतातिर दौडिएका छन् यसको बारे बोल्नै परेन कम छन् कलात्मक छन् , प्रतीकात्मक र बिम्बात्मक छन् । समाजका विकृति,विसङ्गति , अन्याय र अत्याचार आदिमा व्यङ्गधर्मिता प्रशस्तै भेटिन्छन् ।
यसैक्रममा अविधेय अर्थको बिचारमूलक केही प्रेमील हाइकुको उदाहरण हेर्नसकिन्छ।
बन्द कोठामा
भिजेछ त सिरानी
शीत नझरी।।७२२।।
नसमाउन
यो घाउ अधरको
चहर्याउँछ ।। १०४१।।
तिमी सहारा
जीवनको घुम्तिमा
सुख र दुःख ।।९०२।।
तिम्रो आँखामा
खुशी पोखिएदेखि
छैन अँध्यारो ।।१३०२।।
प्रतीकात्मक र व्यञ्जनालाई पनि हेर्न सकिन्छ राजनैतिक विसङ्गतिमाथिको
भेँडा जनता
स्याल जस्तै नेतृत्व
ब्वाँसो निर्णय ।।५७६।।
देशको झण्डा
हल्लाउँदै पखेटा
आयो हुँचिल ।।५७१।।
उस्तै देखियो
दलीय राजनीति
काटेको आलु ।।४९६।।
नेता गाउँछन्
नाच्छन् नागरिक
रत्यौली देश।।४९६।।
गरीबीको पक्ष र रुढीवादी परम्पराको विरुद्धको मात्र १\१ उदाहरण हेरौँ –
धनीको भोज
गरीब अगेनुमा
गिट्ठा भ्यागुर ।।३९१।।
अन्धविश्वास
कालीको मन्दिरमा
मानव वली ।।४८३।।
त्यस्तै मानव सम्वेदनाहरूको अन्तर्ज्वाला पनि त्यत्तिकै पाइन्छ –
नतातेपनि
हृदयको तलाउ
उम्लिरहन्छ ।।२८४।।
चिसो दिलमा
सल्केको छैन आगो
पोल्छ मात्र पो ।।२८५।।
नयाँवर्ष र नयाँ शिक्षा सन्दर्भमा भाषामोह , राष्ट्र र राष्ट्रियताका केही उदाहरण हेरौँ –
भाषा नेपाली
अग्रेजी नयाँ वर्ष
शुभकामना ।।१९२।।
खै त नेपाली
अङ्ग्रेजी होर्डिङ बोर्ड
मारियो भाषा ।।१९३।।
देश नेपाल
धेरै छन् नयाँ वर्ष
खै नयाँ दिन ।।१९५।।
नयाँ शिक्षामा
अङ्ग्रेजी विद्यालय
हरायो भाषा ।।२०१।।
प्रतीकात्मक , बिम्बात्मक र प्रकृतिको प्रयोग हेरौँ केही –
जून हेरेर
भूल्न कोशिस गरेँ
तिम्रो मुहार ।।९५।।
जलेको छाती
सिमलको ओछ्यान
तात्दैन मन ।।१२१।।
गङ्गा जलमा
डुबेर निस्कदैमा
हुँदैन धर्म ।।१२३।।
ढुङ्गाको काप
पिपल उम्रिएर
प्रेम फूलेछ ।।१५०।।
वास्तवमा मैले उदाहरणस्वरूप मात्र प्रश्तुत गरेको हुँ यहाँ भित्र यति फराकिलो आकाश छ जहाँ जता उडेर पनि र जे चाहे पनि सतहमा ल्याउन सकिन्छ मात्र अध्ययन र इच्छाशक्तिको केही आवश्यकता भने अवश्य पर्छ। भावनाको आकाश र विचारको सागर अनन्त र प्रशस्तै भेटिन्छ यो सङ्ग्रहमा । यो कृतिको सन्दर्भमा मैले मीमांसाको रूपमा मात्र प्रश्तुत गरेको छु। एक जना सिद्धहस्त साहित्यस्रष्टा भुवनराज सिवाकोटीको हाइकुसङ्ग्रहमा आफ्नो पाठकीय दृष्टिकोण प्रश्तुत गरेर डुबुल्की मार्ने अवसर प्राप्त भयो । यो मेरो लागि सौभाग्य सम्झेको छु । यो हाइकुसङ्ग्रह सैद्धान्तिक रूपमा , व्यावहारिक रूपमा पनि सफल देखेको छु । पाठकीय आँखामा पनि सुन्दर फूल भएकै कारण सबै सृजनशील मनहरूमा सजिन सफल बन्लान् ।
भुवनराज सिवाकोटी “चौघरे”द्वारा सिर्जित हाइकुसङ्ग्रह “छरिएका पाइला ” नामक पुस्तक खोजीखोजी एक पटक सबै अग्रज र अनुज सृजनशील व्यक्तित्वहरूले पढ्न आवश्यक ठानेको छु । जीवनमा आफूलाई सत्य निष्ठा , राष्ट्र र राष्ट्रियताको आफू बन्न प्रेरित गर्छ त्यो नै म र मभित्रको आफ्नोपन हो ।
अन्त्यमा जे देखेँ त्यही लेख्ने कोशिस गरेँ । दोलखाका साहित्यस्रष्टा भुवनराज सिवाकोटी “चौघरे” कृत पुस्तक हाइकुसङ्ग्रह “छरिएका पाइला” भित्रका कोमल फूलजस्ता सृजनशील डोबहरूसँग पाइलैपिच्छे यात्रा संवादको प्रयास गरेँ। कतै ती डोबहरूले चित्त दुखाएभने पनि अज्ञानता सम्झेर क्षमा दिनुहुनेछ भन्दै संसारभरि राज गर्ने अर्थमा अग्रज स्रष्टा “भुवनराज” सिवाकोटीको साहित्यिक यात्रा यसरी नै अनवरत रूपमा अघि बढिरहोस् । जय साहित्य


Comments
Post a Comment