संघर्षशील महिलाको कथा
भारतको दिल्ली सहरमा यमुनाका दाइहरु रोजगारका निम्ति पुगेका थिए । यमुना पनि दाइहरुलाई भेट्न कुनै समय दिल्ली पुगेकी थिइन् । उनीहरु बस्ने डेरा नजिकै भारतीया महिलाहरु चुरा बनाउन सिकिरहेका देखिन्थे । यमुनालाई पनि चुरा बनाउने तरिका सिक्ने रहर थियो तर उनी नेपाली भएको कारण सिक्न पाइनन् । ती महिलाहरुले चुरा बनाइरहेको दृश्य झ्यालबाहिर घण्टौं उभिएर हेरि रहन्थिन् । खुट्टा थाकेर गलेपनि मन थाक्दैन थे रे ! सिक्छु भन्ने भावना गल्दैन थे रे !
जब मनमा सिक्ने हुटहुटी हुन्छ तब हेरेर पनि सिक्न सिकिंदो रहेछ यमुना चापागाइँ भन्दैथिइन्–सुनेर,हेरेर अनि पछिल्लो समय चुराको काम गरेरै सिकें । चुराले मलाई उद्यमी बनायो । नयाँ पहिचान दियो ,परिचय दियो र सबैकाबीच यमुना भनेर चिनायो ।
यमुनाले यतिबेला रुपन्देहीको शुद्धोदन गाउँपालिकाको वडा नं. ४ फर्साटिकर, हाटबजार लाइनमा भगवती महिला चुरा उद्योग सञ्चालन गर्दै आएकी छिन् । दुई छोरीका आमा यमुनाकी कान्छी छोरीको न्वारानको नाम भगवती हो । उनैको नाममा भगवती महिला चुरा उद्योग नामाकरण गरिएको रहेछ । कान्छी छोरी भगवतीको नयाँ नाम वृक्षा भइसकेको छ । उनी कक्षा नौमा पढ्दैछिन् । जेठी इच्छाले यसैवर्ष इसइइ उत्तीर्ण गरेर व्यवस्थापन पढ्ने अठोट गरेकी छिन् ।
१७ वर्षको उमेरमा अर्घाखाँची माइती भइकी यमुना रायमाझीले २०५७ सालमा अन्तर्जातीय विहे गरिन् । उमेरमा दुबैका बीच धेरै फरक थियो । विहेपछि १० वर्षसँगै जीवन व्यतित गरे । श्रीमानको मृत्युपछि दुई छोरीहरु उनका निम्ति सहारा बने ।
२०६९ सालमा ६ हजार रुपैयाँ लगानी गरेर चुरा बनाउने उद्योग सुरु गरिन् । त्यो उद्योग सुरु गरेर उनले चुरा सम्बन्धी धेरै कुरा सिक्ने अवसर प्राप्त गरिन् । चुरालागि आवश्यक पर्ने केमिकलका बारेमा जान्न र बुझ्न उनी भारतको फिरोदाबाद समेत पुगिन् । धेरै दुःख पाइन् । त्यो दुःखले आज उनलाई सुखको बाटोतिर लम्काएको छ ।
काँच र मेटलबाट विभिन्न थरिका आकर्षक चुरा र कंगनहरु बनाउँदै आएकी छिन् यमुनाले । उनले उत्पादन गरेका चुरा खासगरी नवलपरासी,रुपन्देही र कपिलबस्तुका बजारहरुमा बिक्री हुँदा रहेछन् । दुईवटा आफ्नै यातायातका साधनहरुबाट उनले चुराको बजारीकरण गरिरहेकी छिन् । उनको चुरा उद्योगमा अहिले करिव पचास लाख रुपैयाँ लगानी भइसकेको रहेछ ।
भगवती महिला चुरा उद्योग उनले २०७१ सालमा घरेलु र आफ्नो गाउँपालिकामा औपचारिक दर्ता गरी सञ्चालन गरेकी छिन् । चुरा बनाउन र बजारीकरण गर्न १० जना दिदीबहिनीहरु र दुईजना दाजुभाइलाई प्रत्यक्ष रोजगार दिएकी छिन् । २०७४ देखि २०७६ सालसम्म चुराको बिक्रीले धूरी नाँघेको यमुनाले बताइन् । त्यतिबेला रातोदिन चुरा बनाउने कामले गर्दा खान र सुत्ने मौका नै नपाइएको उनले सुनाइन् । २४ घण्टामा मुस्किलले दुईघण्टा सुत्थे रे ! दुःखका साथ भन्दैथिइन् पछिल्लो समय कोरोनाले उद्योगलाई शिथिल बनाएको छ ।
विभिन्न सरकारी एवम् गैरसरकारी संघ,संस्थाहरुले आयोजना गर्ने चुरा बनाउने तालिम दिन उनी देशका धेरै ठाउँमा पुगिन् । तालिममा सहजीकरण गरेर कहिलेकाँही दिनमा १५ हजारसम्म भत्ता कमाउने भइन् । चुरालाई आवश्यक कच्चा सामग्री समेत बेच्दा दिनमा पचास हजार बढी आम्दानी समेत गरिन् । यस्तो फाइदै फाइदाको कामले उनको प्रगतिलाई सबैले देख्न पाए । आफ्नै परिश्रम र पसिनाले दुईवटा घर ठडाइन् ।
गार्मेन्ट सञ्चालन गरेको पनि दुईवर्ष पुग्दैछ । स्थानीय ६ जना महिलाहरुले काम पाएका छन् । गार्मेन्टमा आफूले नै कटिङ्ग गर्छिन् र सिलाउँछिन् पनि । आधुनिक सिलाइ कटाईका बारेमा यूटूव हेरेर नै सिकेकी हुन् ।
करिव मासिक दुई लाख रुपैयाँ आफ्नो उद्योगमा काम गर्ने कर्मचारीहरुका लागि यमुनाले खर्चिनुपर्छ । घरव्यवहार,छोरीहरुका पढाई,स्वास्थ्य उपचार,बिजुली पानी सबै खर्च कटाएर वर्षमा उनले १० लाख बढी शुद्ध कमाउँछिन् । चालीस वर्ष पनि नपुगेकी यमुनाका जोश,जाँगरमा कुनै कमि आएको छैन । बोल्नमा फरासिली छन् ।
छिमेकीहरु दुर्गा गिरी,रसमाया खड्का र उमा भण्डारीले भन्दैथिए–यमुनाबाट हामी महिलाहरुले धेरै कुरा सिक्न सकिन्छ । उनको सिको गर्न सकिएमा खाली हात बस्नै पर्दैन । उनले आफ्नो उद्योगमा स्थानीय दिदीबहिनी र दाजुभाइहरुलाई रोजगार दिएकी छिन् । सीप सिकाएकी छिन् । आफ्नो गाउँ,ठाउँको चिनारी र इज्जत बढाएकी छिन् ।
यमुनाले आफ्नी कान्छी छोरीलाई चुरा र जेठी छोरीलाई गार्मेन्टको जिम्मेवारी दिइसकेकी छिन् । दुबै छोरीहरु आफ्नो कामप्रति निष्ठान छन् । सानैदेखि उद्यमी बन्ने संकेत देखाएका छन् । आमालाई साथ दिएका छन् । सहयोग गरेका छन् ।
चुरा बनाउँदा र लगाउँदा कतिका हात काटे होलान् । कुरा काट्ने समाजमा रहेका बैरीहरुका मुख चुरा उद्योग खोलेर बन्द गर्दिएकी छिन् यमुनाले । उनको प्रगतिशील र उन्नतिपूर्ण काम गरेको देखेर विभिन्न संघसंस्थाहरुले पुरस्कृत र सम्मानित गरेका छन् । पुरस्कार र सम्मानहरुले यमुनाको जीवनमा नयाँ उत्साह जागृत भएको छ । राष्ट्रपति विद्या भण्डारीलाई आफूले बनाएको चुरा उपहार दिदा सबैभन्दा बढी खुसी भएको बताउँदैथिइन् यमुना ।
यमुना जस्तै महिलाहरुले नै उद्यममार्फत समाजमा आर्थिक परिवर्तन गर्न सकिने शुद्धोदन गाउँपालिकाकी उपाध्यक्ष शान्ता ज्ञवालीले बताउँदै थिइन् ।
श्रीमानको भौतिक सहारा नहुँदा कहिलेकाँही यमुनाको मन भावविह्वल हुने गर्दोरहेछ । छोरीहरुका स्नेह,माया,ममता र सहयोगले दुःखलाई बिर्सिन्छन् र आफ्नो उद्योगलाई अघि बढाउँछिन् ।
दुःखका पहाडलाई कर्मको कुहिनाले भत्काइरहेकी छिन् । परिश्रम र पसिनाले उठाएको पौरखलाई हेरेर सुखको श्वास फेरिरहेकी छिन् । कहिलेकाँही मन थाक्दा,तन थाक्दा छोरीहरुका मुस्कानले यमुनालाई उत्साह दिन्छन् र प्रेरणा थपिदिदा रहेछन् ।





Comments
Post a Comment