उद्यमशीलतामार्फत समृद्ध नेपाल,सुखी नेपालीको मूल नारा पूरा हुने
महिला उद्यमशीलता प्रवद्र्धन नेपालको आयोजना र तिलोत्तमा नगरपालिकाको व्यवस्थापनमा महिला उद्यमशीलता प्रवद्र्धन सम्बन्धी अन्तक्र्रिया र तीज मिलन कार्यक्रम शुक्रवार तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नगरपालिका संघका लुम्बिनी प्रदेश संयोजक एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले महिलाहरुलाई उद्यमशीलतातर्फ उन्मुख गराउँदै आफ्नो खुट्टामा आफै उभ्याउनका निम्ति महिला उद्यमशीलता प्रवद्र्धन,नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै स्थानीय सरकारहरुले महिला उद्यमशीलता विकासका निम्ति नीति,योजना तथा कार्यक्रमहरु तय गरी आवश्यक वजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए । साथै उनले तीजका बेला नेतृत्वमा रहेका महिलाहरुले गहनागुरिया प्रदर्शन गर्ने,पोसाकमा तडभडक देखाउने परम्परालाई त्याग्दै सादा जीवन उच्च विचारमा लम्कन अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा सैनामैना नपाका प्रमुख चित्रबहादुर कार्की,तिलोत्तमा नपाका कार्यवाहक प्रमुख जगेश्वरदेवी चौधरी,कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्री,सियारी गाउँपालिकाका अध्यक्ष अयोध्याप्रसाद थारु,कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले महिलाहरुलाई उद्यमशील नबनाई समृद्ध नेपाल,सुखी नेपालीको नारा पूरा हुन नसक्ने बताउँदै सबै पालिकाहरुले महिलाहरुलाई उद्यमशील बनाउन सक्दो प्रयोग गरि वजेटको समेत प्रवन्ध गरेको बताए ।
उक्त अन्तक्र्रिया कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी,तिलोत्तमा नपा,देवदह नपा र गैडहवा गापाका प्रमुख प्रशासकीय अधिकृतहरुले महिला उद्यमशीलता नारामा भन्दा पनि व्यवहारमा उतार्न सबैले सक्दो पहल गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा अर्थका जानकार माधवकुमार पौडेलले महिला उद्यमशीलता प्रवद्र्धन,त्यसको इतिहास,वर्तमान अवस्था र स्थानीय सरकारहरुले खेल्नु पर्ने भूमिका सन्दर्भमा प्रिजेन्टेसन गरेका थिए । संस्थागत अभिमुखीकरण, संस्थाका अध्यक्ष गोमादेवी आचार्यले र कार्यक्रमको सञ्चालन कोषाध्यक्ष विद्यालक्ष्मी गुरुङले गरेकी थिइन् । औपचारिक कार्यक्रम सम्पन्न भएपछि सहभागीहरुले तीज गीतमा नृत्य गरेका थिए ।




Comments
Post a Comment