राष्ट्रिय चित्रकला प्रतियोगितामा दीप बोर्डिङका सम्राट प्रथम

 बुटवल पुरुषोत्तम पाण्डेय राष्ट्रिय बाल दिवस–२०७८ को अवसरमा नेपाल बाल सङ्गठन केन्द्रीय समितिले राष्ट्रिय स्तरमा आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियर तर्फ दीप बोर्डिङ हाई स्कूल बुटवलको कक्षा ६ मा अध्ययनरत छात्र सम्राट श्रेष्ठ प्रथम भएका छन् । 

नेपाल बाल सङ्गठन जिल्ला शाखा रुपन्देहीले आयोजना गरेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका उनले देशैभरिका बाल चित्रकारलाई पछि पार्र्दै प्रथम हुन सफल भएका हुन् । राष्ट्रिय स्तरको चित्रकला प्रतियोगितामा जिल्ला स्तरमा भएका प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल चित्रकार विद्यार्थीहरूले भाग लिएका थिए । 

प्रथम भएसँगै सम्राट श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट नगद रु १५ हजारका साथ प्रमाणपत्र प्राप्त ग्रहण गरेका छन् । उनले जिल्ला स्तरीय प्रतियोगितामा द्वितीय हुँदा नगद रु ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए । 

नेपाल बाल सङ्गठनले कक्षा ६ सम्म जुनियर र कक्षा ६ देखि कक्षा १० सम्मको सिनियर समूह बनाई प्रतियोगिता आयोजना गरेको थियो । जिल्ला स्तरीय सिनियर चित्रकला तर्फ दीप बोर्डिङ हाई स्कूलकै कृष राना प्रथम भएका थिए । 

चित्रकला प्रथम हुन सफल विद्यार्थीलाई दीप बोर्डिङ हाई स्कूलकी चित्रकला प्रशिक्षक सुमित्रा रानाले प्रशिक्षण दिनुभएको थियो । आफूले प्रशिक्षण गरेको विद्यार्थीले राष्ट्रिय स्तरमै प्रथम स्थान हासिल गरेकोमा खुसी व्यक्त गर्दैै प्रशिक्षक रानाले चित्रकला प्रशिक्षणको क्षेत्रमा थप हौसला र जिम्मेवारी बढेको बताउनुभयो । 


नेपाल बाल सङ्गठन केन्द्रीय समिति अध्यक्ष विद्या उपाध्याय न्यौपानेको अध्यक्षता, राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो भने प्रतियोगितामा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुष्मा राज भण्डारी, प्राज्ञ गणेशकुमार जिसी र बाल शिक्षा विशेषज्ञ पूजा उपाध्यायले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

DNIG द्वारा आयोजित साईग्रेस वर्ड टुर कार्यक्रम सिर्जनात्मकता र व्यवस्थापनको उत्कृष्ट उदाहरण सहित सम्पन्न।