प्रभावशाली प्रभा
आफ्नै पौरखमा आफै बाँच्नुपर्छ र आफ्नो जीवनको यात्रामा केही उन्नतिशील र प्रगतिशील काम गर्नुपर्छ भन्ने उत्साह एवम् उत्प्रेरणाले यतिबेला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –९, को प्रभातपथमा प्रभा सिलाई केन्द्र खोलेकी छिन् । घरेलु तथा साना उद्योग कार्यालय,रुपन्देही र वाणिज्य कार्यालय,भैरहवामा २०७३ सालमा दर्ता गरी नियमित रुपमा सञ्चालन गर्दै आएकी छिन् ।
हुन त उनले भैरहवामा सिलाई केन्द्र खोल्नु अघि रुपन्देहीकै मुर्गिया,तामनगर र काठमाडौंमा समेत सञ्चालन गरेका अनुभवहरु छन् । २०६२ मा उनको विहे गुल्मीका लालमणि गौतमसँग भयो । विहेपछि पनि उनले आफ्नो सिलाई कटाई सम्बन्धी ज्ञान,सीपलाई व्यवहारिक रुपमै प्रयोग गरी अर्थोपार्जनसँग जोडिन् । गरी खाने बाटो बनाइन् । जीवनको लयमा बगाइन् ।
उनकै मामाले टेलरिङ्ग काम गरेको देखेर आश्चर्य प्रकट गरेका थिए रे ! पढेलेखेकी भाञ्जीले अरु बाटो नै रोजेको भए नि हुन्थ्यो नि भनेर आफन्तीहरुसँग कुरा गर्दारहेछन् । यतिमात्र होइन आफ्नो पसलमा आउने केही कर्मचारीहरुलाई स्वागतका लागि दिएको चिया नपिउँदाको तीतो अनुभव प्रभासँग छ । हजुर त आर्यजातिको जस्तै देखिनु हुन्छ अनि फेरि किन सिलाई कटाइतिर ? कतै तपाइँको अन्तर्जातीय विहे भएको त होइन ? धेरैले यस्तै प्रश्न सोधिरहँदा प्रभा भन्दैथिइन्–काम कसैको नीजि पेवा होइन । ज्ञान, सीप, क्षमता भए जुन काम जसले गरेपनि हुन्छ । हाम्रो समाज अझै् पूर्णरुपमा बदलिसकेको छैन ।
उनी भनिन्छन्–ग्राहकलाई दिइने सेवाबाट नै हामी सन्तुष्ट हुन्छौं । ग्राहकको सन्तुष्टि नै हाम्रो मुख्य उद्देश्य हो । ग्राहकको रोजाई र अनुरोधलाई हामीले क्यास गर्न सकेमा आफ्नो उद्यमलाई लामो समयसम्म टिकाउन सक्छौं होला । ग्राहकलाई दिइने सेवा र उनीहरुसँग गरिने व्यवहारलाई बढी ख्याल राख्दै आएका छौं ।
प्रभाले शिक्षा संकायतर्फ कक्षा १२ सम्म अध्ययन गरिन् तर पूरा गर्न सकिनन् । घरव्यवहार,छोराहरुको स्याहार सुसारका कारणले । यतिबेला ठूलो छोरो आठमा र सानो छोरोले पाँच कक्षामा पढ्न थालेका छन् । आफूले पनि भानु माविमा कानून संकायतर्फ कक्षा ११ को अन्तिम परीक्षा दिइसकेकी छिन् । प्रभाले कानून पढेर सिक्ने र दिदीबहिनीहरुलाई न्याय सम्बन्धी कुराहरु सिकाउने रहर पालेकी रहेछिन् ।
सामाजिक न्यायका लागि र राजनीतिक परिवर्तनका निम्ति अग्रसर प्रभाले जतिबेलासम्म महिलाहरुले आर्थिक सम्पन्नतासहितको अधिकार प्राप्त गर्दैनन् तबसम्म समृद्धिको सपना पूरा हुन नसक्ने बताउँदैथिइन् । त्यसका लागि आफू आफ्नो क्षेत्रबाट निरन्तर क्रियाशील रहेको बताइन् ।
आफ्नो उद्यममा अहिले बढी अस्वस्थ प्रतिस्पर्धा रहेको,सस्तो रेडीमेड लुगाहरुले बजार खाइदिएको र घरघरमै टेलरिङ्ग खुल्न थालेपछि केही समस्या थपिएको बताउने प्रभाले ग्राहकहरुलाई नयाँनयाँ डिजाइन दिने,सन्तुष्टि दिने,उनीहरुको समयलाई ख्याल गर्दिने र सक्षम प्रतिस्पर्धी बन्नका लागि आफ्नो ज्ञान र सीपको भण्डार बढाउन सकिने हो भने सिलाइ कटाई उद्यमलाई अघि बढाउँदै सयौं दिदीबहिनीहरुलाई रोजगारी दिन सकिने र आर्थिक समृद्धि सम्भव रहेको प्रभाले सुनाइन् ।
सिलाई कटाई तालिममा सहजीकरण गर्न धेरै ठाउँ पुगेकी छिन् । आफ्नै सिलाई केन्द्रमा समेत सिकारुहरु आउँछन् । सहजीकरण गरेवापत वार्षिक डेढ दुईलाख अर्थोपार्जन गर्छिन् । आफ्नो सिलाई केन्द्रबाट सबै खर्च कटाएर उनले वार्षिक तीन लाख बढी शुद्ध कमाउँछिन् । भैरहवाकै गोलीगठ टोलमा रहेको आफ्नै घरमा भव्य गार्मेन्ट उद्योग खोलेर परदेशिएका श्रीमानलाई स्वदेशमै बसाल्ने र बेरोजगार दिदीबहिनीहरुलाई कामकाजी बनाउने योजना बुनेकी छिन् ।





Comments
Post a Comment