सुंगुर पालेर सुखको खोजीमा

 

सुंगुर पालेर सुख खोज्नुपनि कम्तिको दुःखको विषय होइन । सन्तानले नदिएको सुख,कसरी सुंगुरले देला र ? अनौठो लाग्छ । हाम्रो समाजमा यस्ता थुप्रै महिलाहरु छन् । जसले आफ्नो जीवनलाई अघि बढाउन अनेक प्रयास,प्रयत्न र अभ्यासहरु गरिहेका छन् । जीवनको कठिन यात्रामा निरन्तर अघि बढिरहेका छन् । 

रुपन्देही जिल्लाको सुदूरदक्षिणी भेगमा मर्चवारीमाई गाउँपालिका पर्छ । भारतसँग कुम जोडिएको गाउँपालिका हो मर्चवारीमाई । त्यही गाउँपालिकाको वडा नं. ३ को रायपुर गाउँमा बोदामी चमार बस्दै आएकी छिन् । उमेर ५० नाँघ्यो । दुई छोराहरु छन् । बुहारी लिएर उनीहरु छुट्टाभिन्न भइसके । जेठो छोरो कन्हैया  र कान्छो छोरो सन्तोष हुन् । 


घोला नजिकै बञ्जर जग्गामा बोदामीले बुकुरो बनाएर बसेकी छिन् । आधा घाम छेक्छ । पानी सबै घरभित्र पस्छ । हूरी,बतास लाग्दा छानो उडाइदिन्छ । जनतन टालटुल गर्छिन् । एकबारको जिन्दगीमा दुःखसँगै लडेर अघि बढिरहेकी छिन् । 

बोदामीको बाँच्ने आधार सुंगुरपालन हो । विगत २५/३० वर्षदेखि यही कामलाई निरन्तरता दिएकी छिन् । एक वर्षजति पालेर बेच्दा एउटा सुंगुरको मूल्य १४/१५ हजार रुपैयाँ पर्दारहेछ । राम्रोसँग हुर्किएमा २५ धार्नी सम्म पुग्ने उनले सुनाइन् । बोदामीले सुंगुरलाई खुवाउने दाना किन्न सक्ने हैसियतमा छैनन् ।  त्यही भएर बजारमा फालिएका तरकारीका बोक्राहरु,पातहरु टिपेर ल्याउँछिन् । पानीमा पकाएर खुवाउँछिन् । सुंगरका पेट भर्न खोरबाहिर डुलाउँछिन् । उचित खान्की नपाएकै कारण सुंगुर भनेजस्तो नसप्रिएको बोदामीले बताइन् । 

गाउँपालिकाले सुंगुरलाई रोग लाग्दा कहिलेकाँही ओखती दिने बताइन् । सुंगुरलाई केकस्ता रोग लाग्छन्,बचाउने उपायहरु केके हुन् भन्ने उनलाई खासै जानकारी छैन  । तैपनि हिलोले सुंगुरका खुट्टाहरुमा घाउ हुने,जुका पर्ने जस्ता सामान्य समस्या लाग्यो भने घरेलु ओखती गर्दै आएको उनले सुनाइन् । यतिबेला उनको खोरमा पाँचवटा सुंगुरहरु छन् । एक,डेढवर्ष पाल्दै बेच्ने चलन रहेको उनले सुनाइन् । 

सुंगुर अलि ठूलो बनाएर बेच्न पाए उचित र धेरै मूल्य पर्ने भएतापनि आफू दुःख,बिमार हुँदा तुरुन्तै बेच्नुपर्ने,घर खर्च चलाउनका लागि न हुर्कदै बेच्नुपर्ने बाध्यकारी अवस्था आएको बोदामीले दुखी मनले सुनाइन् । बोदामीको जिउने मुख्य आधार नै सुंगुरपालन हो ।  सुंगुर बेचेर आएको पैसाले साँझ,विहान हात जोरेकी छिन् । लत्ताकपडा किनेकी छिन् । बिरामी हुँदा ओखतीपानी गरेकी छिन् । हल्का सुख त सुंगुरबाट पाएकी छिन् । 


सो गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवार भन्दैथिइन्–मर्चवारीमाईमा उद्यम गरेर खाने महिलाहरु अति नै न्यून छन् । मजदूरी गरेर खान्छन् तर आफ्नो उद्यम,व्यवसाय र पेसा अपनाउने महिलाहरु औलामा गन्न सकिने छन् ।गाउँपालिकाले महिला उद्यमशीलतामा जोड दिएपनि सोचे जति प्रगति गर्न सकिएको छैन । 



Comments

Popular posts from this blog

दोस्रो महाधिवेशन बाट गुल्मी दह बलालको नेतृत्वमा नयाँ कार्य समिति चयन !

वीरगाथा सहकारीको सुझाव संकलन कार्यक्रम सम्पन्न

वीरगाथा साकोसद्वारा सहकारी शिक्षा तालिम सम्पन्न