देवदह बेकरिजका संचालक रेनुको संघर्ष कथा
श्रीमानको मृत्युपछि, रेनु काफ्ले सन् २००९ मा कुवेत उडिन् । दुईवटी छोरी माइतीघर छाडेर । उनी पाँचवर्ष उतै बसिन् । फर्केर आएपछि दुईवर्षका लागि फेरि दुबई पुगिन् । विदेशको लामो बसाइ,छोरीहरुका माया,माइतीघरको सम्झनाले रेनुलाई आफ्नै ठाम,रुपन्देहीको देवदह वडा नं. ४ भवानीपुर फर्कायो । बाध्यताको पखेटा हालेर वैदेशिक रोजगारीका लागि उड्न उनी विवश थिइन् ।
आफ्नो कर्मथलो फर्केपछि साढे तीनलाख रुपैयाँमा भवानीपुरमै रहेको पाउरोटी उद्योग खरिद गरिन् । डेढलाख जति खर्र्चिएर उद्योगलाई राम्रो बनाइन् । यो कुरा सातवर्ष अघिको हो । चार वर्षदेखि उनले आफ्नो देवदह बेकरिज उद्योग घरेलु र देवदह नगरपालिकामा दर्ता गरेर निरन्तर चलाइ रहेकी छिन् । यतिबेला उनले आफ्नो उद्योगलाई आधुनिकीकरण गरेकी छिन् । ओभन राखेकी छिन् । जेनेरेटरको व्यवस्थापन गरेकी छिन् । लगानी करिव आधा करोड पुराएकी छिन् । मैदा मुछ्ने र काट्ने मेसीनको समेत प्रवन्ध गरेकी छिन् ।
वैदेशिक रोजगारीको आम्दानी र आफ्नो श्रम,सीप एवम् समय आफ्नै बेकरिजमा खर्चिने मनसुभाले सञ्चालन गरेको बेकरिजले रेनुलाई उद्यमी महिलाको रुपमा उभ्याएको छ । आफ्नो खुट्टामा आफै उभिएर आफूलाई सामाजिक,आर्थिक परिवर्तनको सम्वाहक बनाएकी छिन् ।
रेनुले आफ्नो बेकरिजमा समसा,पाउरोटी,कुकिज,दुनोट,ब्रेड,स्लाइस उत्पादन गर्दै आएकी छिन् । समयको माग र अनुकूलताका आधारमा उनले पछिल्लो समय वर्थ–डे केक् समेत बनाउन थालेकी छिन् । यी बस्तु उत्पादनका लागि मैदा,चिनी,घ्यू,दूध, इष्ट, नून,लगायतका सामग्री खाँचो पर्दछन् ।
रेनुले आफ्नो बेकरिज सुरु गर्दा उनीसँग सो सम्बन्धी कुनैपनि किसिमका ज्ञान,सीप थिएनन् । लहलहैमा लागेर मिस्त्रीको भरमा परेर नै उद्योग खोलेकी थिइन् । माइतीघरका बाबाले अतिनै साथ दिए । हौशला थपिदिएपछि उद्यम सुरु गर्न प्रेरणा मिलेको रेनुले बताइन् । उनी भन्दैथिइन्–विदेश गएर आएपछि यतिकै बस्न मन लागेन । भुल्ने बाटो पनि केही थिएन । छोरीहरुलाई लालनपालन,घरव्यवहार,शिक्षादीक्षा र औषधोपचारका निम्ति केही न केही गर्नुपर्ने कुराले झकझकायो । आवश्यकताले उनलाई बेकरिज उद्योग खोल्न बाध्य पा¥यो । अभ्यासले उनलाई कर्मशील एवम् सफल उद्यमी बनाएको छ यतिबेला ।
रेनु भन्छिन्–बेकरिज सम्बन्धी मैले कुनै किसिमको तालिम लिएको छैन । बस्तु बनाउँदै सिक्दै गएको हुँ । कैयौंपटक बस्तु बनाउँदा सामानहरु खेर गएका छन् गल्तिका कारण । त्यहि गल्तिले नै मलाई अहिले उद्यमी बन्न मद्दत पुगेको छ । गरेर नै सिकिंदो रहेछ । सिकेर नै गरिदो रहेछ ।
रेनुले एकल महिला हुनुको पीडा भोगेकी छिन् तर खुम्चेर बसेकी छैनन् । भाग्यलाई दोष दिएकी छैनन् बरु कर्मशील बनेर निरन्तर उद्यम यात्रामा छिन् । कष्टकर जीवन यात्रा भोगेकी छिन् तर हरेश खाएकी छैनन् । आर्थिक क्रान्तिमार्फत समाज परिवर्तन गर्ने अठोट लिएकी छिन् । उनी चाहन्छिन्–समाजले साथ,समर्थन र सहयोग गर्न सक्दैन भनेपनि बिरोध पनि नगरोस् ।
माइतीघरकी जेठी छोरी रेनुका दुई बहिनी र दुई भाइहरु छन् । रेनुका दुई छोरीहरुमध्ये जेठीले स्नातक पढ्दैछिन् भने गत बैसाखमा विहेदान गरिदिइन् । कान्छी कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा छिन् । श्रीमान् गुमाएको पनि १२ वर्ष बित्यो ।






Comments
Post a Comment