समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पूरा गर्न उद्यमशील हुनुपर्नेमा जोड
लुम्बिनी वाणिज्य क्याम्पस,बुटवलमा शुक्रवार पौरखी पात्र पुस्तक र महिला उद्यमशीलता सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीले विद्यार्थीलाई जागिरमुखी शिक्षाभन्दा उद्यमी बनाउने अभियानमा आफ्नो क्याम्पस गतिशील रुपमा अघि बढेको बताउँदै पौरखी पात्र नामक पुस्तकले महिला उद्यमशीलता प्रवद्र्धनमा टेवा पुराउन सक्नेमा जोड दिइन् ।
उनले महिला पहिला भन्ने नारालाई आत्मसात् गर्दै अघि बढेर नेपाली महिलाहरु घरधन्दामा मात्र सीमित नभई अर्थोपार्जनका निम्ति उद्यमशील हुन सकेमा समृद्ध नेपाल,सुखी नेपालीको आकांक्षा पूरा हुन सक्ने बताइन् । साना साना उद्यमबाट सुरु गरेर नै महिलाहरु सफल उद्यमी बन्न सक्ने भएको हुँदा ठूला कुराभन्दा पनि उद्यमी बनेर समाजमा आर्थिक परिर्वतनको वाहक महिला बन्नु पर्ने सुनाइन् ।
पौरखी पात्र पुस्तकका लेखकहरु दलबहादुर गुरुङ र माधवकुमार पौडेलले पौरखी पात्र पुस्तक स्मल इज ब्यूटीफूलको नमूना रहेको बताए । नेपालमा महिला उद्यमशीलता र यसको वर्तमान अवस्थाका बारेमा उनीहरुले प्रिजेन्टेसन गर्दै गाउँका महिला उद्यमीहरुलाई आफ्नो थेसीसको विषय बनाउन समेत विद्यार्थीलाई अनुरोध गरेका थिए ।
विदेशी महिलाहरुमात्र महिला उद्यमशीलता विषयका पात्र बनिरहेको सन्दर्भमा नेपालकै,अझै ग्रामीण भेगका महिलालाई विषय बनाउन सकिएमा महिला उद्यमशीलतालाई उत्थान गर्न सकिने र नेपाली माटोमा नै नेपाली महिलाहरुले गरी खान सक्ने हुन्छन् भन्ने गतिलो सन्देश प्रवाह हुने उनीहरुले बताए ।
कार्यक्रममा क्याम्पसका सहप्राध्यापकहरु लक्ष्मण भण्डारी,मधुकर शर्मा,रोमनाथ शर्मा,माया आचार्य,सुरेश सापकोटाका साथै स्नातक तह, स्वायत्त कार्यक्रम अन्तर्गतका विविएम,विएमएसका सय जना विद्यार्थीको सहभागिता थियो ।
Comments
Post a Comment